Breaking News

कांग्रेसलाई घेराबन्दी पार्ने खेल भइरहेको नेता पौडेलको आरोप

काठमाण्डौ, २९ जेष्ठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई घेराबन्दी पार्ने खेल भइरहेको आरोप लगाएका छन् ।

लोकतन्त्रवादी नेतृ शैलजा आचार्यको स्मृति दिवसका अवसरमा शैलजा आचार्य आदर्श समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको विचारसभामा पौडेलले सत्तारुढ दलले कांग्रेसलाई घेराबन्दीमा पार्ने खेल भइरहेको भन्दै कांग्रेस समयमै सचेत हुनु जरुरी रहेको बताए ।

वरिष्ठ नेता पौडेलले सरकारले दुईतिहाईको समर्थन जुटाउनु र सत्ता पक्षबाटै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुरा गर्नुले गम्भीर आशंका पैदा गरेको बताए । संविधान कार्यान्वयनको चरणमा रहेको भन्दै उनले बहुमतको खेलमा संविधानलाई चलाउने काम भए पुन मुलुकमा अस्थिरता उत्पन्न हुन सक्ने धारणा पनि राखे । त्यस्तै उनले पार्टी सभापतिले सबै कांग्रेसीलाई समेटेर अगाडि लैजान नसक्दा पार्टी अप्ठ्यारोमा परेको समेत बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शेखर कोईरालाले मुलकका लोकतन्त्र स्थापनाका लागि शैलजा आचार्यको योगदानलाई कांग्रेसले बिर्सन नहुने धारणा राखे ।

नेपाली कांग्रेसकी नेतृ आचार्यको ६५ वर्षको उमेरमा जेष्ठ २९ गते उपचारका क्रममा निधन भएको थियो । आचार्य नेपालको पहिलो महिला उपप्रधानमन्त्री हुन् । उनले २०१७ सालमा राजालाई कालो झण्डा देखाउंदा २ वर्ष जेल र त्यसपछि २ वर्ष भूमिगत जीवन बिताएकी थिइन् ।

shares