Breaking News

पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नका लागि मजबुत आधार चाहिन्छ: नेता पौडेल

काठमाण्डौ, २८ जेष्ठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नका लागि मजबुत आधार चाहिने बताएका छन् ।

नेपाल विद्यार्थी संघले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले पार्टीमा न्याय, निष्पक्षता र पारदर्शिता भएमात्र गुटबन्दी अन्त्य गर्न सकिने बताए । पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै पौडेलले नेतृत्वले कुरा नबुझ्ने भन्दै व्यङ्ग्य समेत गरे ।

उनले कांग्रेसलाई पुरानो ठाउँमा लानुभन्दा पनि नयाँ ठाउँमा लानुपर्ने उल्लेख गर्दै यसका लागि संगठन बलियो बनाउनुपर्ने सुझाव दिए । लोकतन्त्रलाई संकटबाट जोगाउन कांग्रेसको भूमिका महत्वपूर्ण हुने भन्दै उनले सबै कांग्रेसलाई समान दृष्टिले हेर्नुपर्ने बताए ।

त्यस्तै उनले कांग्रेस संसदमा आफ्नो कमजोर प्रदर्शन गरेको उल्लेख गर्दै कांग्रेसभित्रको कमजोरी सुधार्नुपर्ने बताए । पौडलले अहिलेको संसदीय व्यवस्था नै मुलुकको हितमा रहेको भन्दै निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली मान्य नहुने समेत बताए ।

कार्यक्रममा कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले सरकारले जनताको भावना विपरीत सरकारको कामकारवाहीको विरोधमा सदनमा कडा ढंगले आवाज उठाउनुपर्ने बताए । उनले पार्टी सभापतिले पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन नसकेको आरोप लगाए ।

त्यस्तै काँग्रेस नेता प्रकाशमान सिंहले एमाले र माओवादी मिलेर ने क पा बनिसकेको अवस्थामा कांग्रेस आफैं मिल्न नसकेको गुनासो गर्दै सिंहले पार्टीलाई संस्थागत गर्नुपर्ने सुझाव दिए । पार्टीको नेतृत्वमा भएकाहरू विधि बमोजिम चल्नुपर्ने सिंहको तर्क थियो ।

त्यस्तै काँग्रेस नेता गगन थापाले प्रदेश लगायत स्थानीय तहलाई अवमूल्यन गर्दै सरकारले संघीयता विरोधी काम थालेको आरोप लगाए । त्यस्तै काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसलाई पेलेर जाने नीति लिएको आरोप लगाए ।

shares