Breaking News

प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफलार्इ

काठमाण्डौ, २८ जेष्ठ । त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी आर्मीलाई ६ विकेटले हरायो । आर्मीले दिएको २ सय १० रनको लक्ष्य पछ्याउने क्रममा अनिल शाह र प्रदिप ऐरीले समान ६३–६३ रनको योगदान दिए । ब्यक्तिगत १२ रन बनाएर सुवास खकुरेल रिटायर्ड भएपछि क्रिजमा आएका प्रदिप ऐरीसँग मिलेर अनिल शाहले पहिलो विकेटका लागि १ सय ३८ रनको साझेदारी गरेका थिए ।

त्यसपछि क्रिजमा आएका पृथु बास्कोटाले २४ बलमा ३२ रनको आक्रामक पारी खेले । एपीएफका लागि रोहित कुमार पौडेलले पनि १५ रनको योगदान दिए । खेलको अन्तिम समयमा सुवास क्रिजमा फर्किएर २ रन थपे । करण केसीले अन्तिममा १५ रनको योगदान दिएपछि एपीएफले ४१ दशमलव २ ओभरमा विजय लक्ष्य भेट्टायो । बलिङतर्फ सोमपाल कामीले तीन विकेट लिँदा विक्रम सोवले १ विकेट हात पारे । एपीएफका चारैजना खेलाडी क्याचआउट भएका थिए र चारवटै क्याच विनोद भण्डारीले लिएका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको आर्मीका खेलाडी एपीएफका बलरको दबाबमा परे । फलस्वरुप ५० ओभरमा सबै विकेट गुमाउँदै आर्मीले २ सय ९ रन बनाएको थियो । आर्मीले ५६ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो । यस क्रममा सागर पुन ५ रन, अनिल मण्डल १९ रन, नरेश बुढाऐर २० रन र राजु रिजाल ६ रनमा पवेलियन फर्किए ।

भिम शार्कीले ४५ रनको योगदान दिएर पारी उकास्ने प्रयास गरेपनि उनी बसन्त रेग्मीको बलमा बोल्ड भए । सोमपाल कामीले ३६, कप्तान विनोद भण्डारीले ३५ रन बनाए भने विक्रम शोबले १, सुशन भारीले २ र सहाव आलमले २ रन बनाए । बलिङ तर्फ करण केसीले ३ विकेट लिए भने भुवन कार्की र बसन्त रेग्मीले २–२ विकेट हात पारे ।

shares