Breaking News

एक साताभित्रै राजपा सरकारमा जान्छ: महासचिव झा

काठमाण्डौ, २८ जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले आफ्नो पार्टी एक साताभित्रै सरकारमा सहभागी हुने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले संविधान संशोधनमा प्रतिबद्धता जनाइसकेकोले अब आफ्ना पार्टीका सांसद रेशमलाल चौधरीको सपथग्रहणको वातावरण बन्नेवित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका हुन् ।

साक्षात्कारमा बोल्दै महासचिव झाले भने, ‘सरकारमा जान हामीलाई कुनै आपत्ति छैन, प्रधानमन्त्री केपी शर्मा ओली र यो सरकारका मन्त्रीहरूले पनि सकारात्मक प्रयत्न गरिरहनुभएको छ, हाम्रो पार्टीका सांसद रेशम चौधरीको सपथको वातावरण बन्यो र संविधान संशोधनमा सहमति भयो भने हामी सरकारमा जान्छौं।’

उनले आफूहरूले संविधान संशोधनमा ‘टायम फ्रेम’ खोजेको पनि जनाए । उनले भने,‘संविधान बनेको तीन वर्षभित्र अर्थात २०७५ असोज ३ गतेसम्म सबै कानून निर्माण भैसक्नुपर्ने भएकोले अागामी असोज ३ गतेअघि नै संविधान संशोधन होस् भन्ने हाम्रो चाहना हो ।’

त्यस्तै २ नम्बर प्रदेशको सरकार राजपाको कारणले नढल्ने पनि महासचिव झाले बताए । उनले भने, ‘२ नम्बर प्रदेशमा राजपा र फोरमलाई नै सरकार बनाउन जनताले मत दिएका हुन्, हामी जनमतको कदर गर्छौं, त्यसबाट दायाँबायाँ हुँदैनौं, हाम्रो कारणले सरकार ढल्दैन्, हामी असहयोग गर्दैनौं।’

फरक प्रसँगमा उनले आफ्नो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधि सभाको सभामुखको अफर गरे जिम्मेवारी वहन गर्न तयार रहेको पनि विश्वास दिलाए । यस्तो जिम्मेवारी अाएमा पछि नहट्ने उनको भनाइ थियो ।

shares