October 20, 2017

देउवाका कारण अपेक्षित परिणाम नआएको पौडेल पक्षको आरोप

काठमाडौं ९ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पार्टीको अनपेक्षित परिणाम आएको निष्कर्ष निकाल्दै यसमा सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको आरोप रामचन्द्र पौडेल पक्षधर नेताहरुले लगाएका छन्।

पछिल्लो राजनीतिक घटनाक्रममा देउवाले लिएको गलत नीतिका कारण सहरी क्षेत्रमा बस्ने मध्यमार्गी मतदाता कांग्रेससँग बिच्किएको निष्कर्ष पौडेल पक्षको छ।

पौडेल पक्षधर नेताहरुले सोमबार साँझ पौडेलको सम्पर्क कार्यालय अनामनगरमा बैठक बसी पहिलो चरणको चुनाव परिणामबारे समीक्षा गरेका थिए।

समीक्षामा गाउँमा कांग्रेसको पक्षमा राम्रो परिणाम आए पनि सहरी क्षेत्रमा अनपेक्षित भएको निष्कर्ष नेताहरुले निकालेका थिए। राजदूत प्रकरण, आइजी प्रकरण, प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोगलगायतका कारण कांग्रेसको पक्षमा भोट नआएको पौडेल पक्षको निष्कर्ष छ। आइजी तथा महाअभियोग प्रकरणमा सभापति देउवाले लिएको अडान गलत भएको उनीहरुले जनाएका छन्।