‘आगामी आर्थिक वर्षमा सुरक्षाको विशेष कार्यक्रम सञ्चालन गरिने’

काठमाण्डौ, २७ जेष्ठ । गृहमन्त्री रामबहादुर थापाले आगामी आर्थिक वर्षमा सुरक्षाको विशेष कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका छन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा मुलुकको शान्ति सुरक्षाका बारेमा जानकारी गराउँदै उनले सरकारले शान्ति सुरक्षा, स्थायित्वसहित समृद्धिका लागि सकारात्मक रूपमा अघि बढाएकाले जनतामा आशा जगाएको भन्दै आगामी आर्थिक वर्षमा सुरक्षाको विशेष कार्यक्रम ल्याइने बताएका हुन् ।

सामाजिक अपराधलाई सामाजिक विभेदको अन्त्य गर्दै समृद्धिको बाधकका रूपमा रहेका कुसंस्कार र सामाजिक अपराध नियन्त्रणको कारबाहीलाई प्रभावकारी बनाउँदै लगिएको उनले बताए । सुनकाण्डको अनुुसन्धानमा गहिराईमा पुगेको, यातायात क्षेत्रमा देखिएको सिण्डिकेट अन्त्य हुनु सकारात्मक सुरुवात भएको उनले बताए ।

उनले सडक निर्माण देखिएका ढिलासुस्तीलाई अन्त्य गर्ने , निर्माण कार्यमा गैरकानुनी काम गर्नेलाई निरुसाहित गर्न सरकार प्रतिबद्ध रहेको जिकिर गरे । गृहमन्त्री थापाले सीमा सुरक्षाको क्षेत्रमा सबै सुरक्षा निकायसँग समन्वयात्मक रूपमा परिचालन गरिएको धारणा राखे ।

विखण्डनकारी, अतिवादको अन्त्यका लागि राजनीति तथा प्रशासनिक दुबै कार्यलाई अगाडि बढाइएको भन्दै गृहमन्त्री थापाले शान्ति सुरक्षा र मुलुकको विकासको बाधकका रूपमा रहेको संगठित अपराधको नियन्त्रणमा विशेष अभियान सुरु गरिएको जानकारी दिए ।

उनले महिला तथा बालबालिका क्षेत्रमा देखिएका जोखिमका विषयमा छानबिन गर्न समिति बनाएर अगाडि बढाइएको जानकारी दिँदै त्यसतर्फ गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए । विपद् जोखिम न्यूनीकरणका विषय प्रभावकारी बनाउने बताउँदै गृहमन्त्री थापाले क्षतिको आधारमा उद्धार र राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।