Breaking News

सभामुख वा उससभामुखमध्ये एकले पद छोड्नुपर्छ: कांग्रेस

काठमाण्डौ, २७ जेष्ठ । प्रमुख विपक्षी नेपाली कांग्रेसले सभामुख वा उससभामुखमध्ये एक पद छाड्न सत्तारुढ दल नेकपाको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले संविधानको मर्म र भावनाअनुरुप सभामुख र उपसभामुखमध्ये अब एक पद छाड्न सभामुखमार्फत नेकपाको ध्यानाकर्षण गराएकी हुन् । भुसालले संवैधानिक सर्वोच्चतालाई कायम राख्दै सभामुख वा उपसभामुख एकै दलको हुन नहुने भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताइन् । विधिको शासनअनुसार संसदीय व्यवस्थाअनुसार अभ्यास हुनुपर्नेमा जोड दिँदै उनले एक दलीय सर्वसत्तावाद लागू गर्न खोजेको आरोप लगाइन् ।

संविधानले संसदमा एकभन्दा धेरै दलको प्रतिनिधित्व नभएको अवस्थामा वा उम्मेद्वारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा नपुग्ने व्यवस्था गरेको छ । नेकपा बनेपछि प्रतिनिधिसभामा चार राष्ट्रिय दल भएका छन् । फागुन २६ गते तत्कालीन माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका थिए भने उपसभामुखमा तत्कालीन नेकपा एमालेबाट शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी थिइन् ।

shares