सलमान खानको हत्या गर्ने योजना बनाउने मोस्ट वान्टेड डन पक्राउ

मुम्बर्इ, २७ जेष्ठ । बलिउड अभिनेता सलमान खानको हत्या गर्ने योजना बनाउँदै गरेका मोस्ट वान्टेड डन सम्पत नेहरा पक्राउ परेका छन् ।

नेहरालाई हरियाणास्थित भारतीय प्रहरीको विशेष कार्यदलले हैदराबादबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सम्पत नेहराले सलमान खानलार्इ मार्ने योजना अनुसार उनका प्रत्येक गतिविधिको अध्ययन गरिरहेका थिए । मुम्बई गएर उनले सलमानले आउजाउ गर्ने स्थानदेखि लिएर उनका ‘बडी गार्ड’ का बारेमा पनि जानकारी लिइसकेका थिए ।

सम्पत नेहरा सामाजिक सञ्जालमा निकै सक्रिय रहेको लरेन्स विश्नोई नामक खतरनाक गिरोहका लागि काम गर्छन् जसले यसै वर्ष जनवरीमा सलमानलाई कृष्णसार प्रकरणमा ज्यान मार्ने धम्कीसमेत दिएको थियो । गिरोहका सदस्य नेहरामाथि हत्या, अपहरण, र सुपारी लिएर हत्या गरिएका दुई दर्जनभन्दा बढी अभियोग लगाइएका छन् ।

सलमानलाई मारेर विदेश भाग्ने योजना बुन्दै गरेका नेहरा सलमानको घरको निगरानी गरिरहेका थिए । कृष्णसार प्रकरणकै कारण सलमानको हत्या गर्ने षडयन्त्र रचिएको बताइएको छ ।