राजेश हमाल नयाँ अवतारमा पुनः फिल्ममा फर्किंदै

काठमाण्डौ, २७ जेष्ठ । महानायक राजेश हमाल फेरि फिल्मी पर्दामा फर्किने भएका छन् ।

शनिबार परेको उनको ५४ जन्मोत्सवको अवसरमा उक्त कुरा सार्वजनिक गरिएको हो । हमाल दिनेश श्रेष्ठ निर्देशित नयाँ फिल्ममा अनुबन्धित भएका हुन् । फिल्मको नाम भने हालसम्म सार्वजनिक नभइसकेको जनाइएको छ ।

यसअघि हमालले दिनेश निर्देशित फिल्म ‘शकुन्तला’मा काम गरिसकेका छन् । उनको पछिल्लो फिल्म नै ‘शकुन्तला’ बन्न पुगेको थियो । उक्त फिल्म असफल भएपछि उनी फिल्मको पर्दामा देखिन छोडेका हुन् ।

हमाल अबको नयाँ फिल्ममा नयाँ अवतारमा देखिने निर्देशक दिनेशले जानकारी दिए । उनले भने, ‘हामी यस फिल्ममा राजेश दाइलाई विल्कुलै भिन्न र च्यालेन्जिङ अवतारमा प्रस्तुत गर्नेछौँ।’

निर्देशक श्रेष्ठले बताएअनुसार सो फिल्म निर्माणको अन्तिम चरणमा पुगेको छ । फिल्ममा हमालले चार अभिनेत्रीसँग गरेको रोमान्स प्रस्तुत गरिनेछ ।  तर फिल्ममा चार अभिनेत्री को-को रहने भन्नेबारे भने खुलाइएको छैन ।

फिल्मलाई अनिल पाण्डे, प्रिन्स युवराज कार्की, शिवराज कार्कीलगायतले संयुक्त रूपमा निर्माण गर्ने बताइएको छ ।