नेपाल प्रहरीमा अब ३ जनामात्रै एआईजी राख्ने सरकारको निर्णय

काठमाण्डौ, २७ जेष्ठ । सरकारले नेपाल प्रहरीमा अब ३ जनामात्रै एआईजी राख्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार बसको मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी कटौती गर्दै प्रहरीमा ३ जनामात्रै एआईजी रहने निर्णय गरेको हो । यसअघि प्रहरीमा १६ जनाको दरबन्दी सिर्जना गरिएको थियो ।

त्यस्तै, बैठकले सशस्त्र प्रहरीमा २ जना एआईजी रहने व्यवस्था गर्ने निर्णय गरेको छ । हाल सशस्त्र प्रहरीमा ८ जना बहालवाला छन् । बैठकले प्रादेशिक संरचनानुसार नेपाल प्रहरीमा आवश्यक दरबन्दी परिपूर्ति गरिने निर्णय पनि गरेको छ ।

त्यस्तै, नेपाल प्रहरीलाई सबै स्थानीय इकाईमा लैजान १६ सय नेपाल प्रहरीको दरबन्दी खुलाउने निर्णय पनि बैठकले गरेको छ । आगामी वर्ष तीन हजार एकसय एक प्रहरीको दरबन्दीका लागि गृहलाई स्वीकृति दिने निर्णय गरिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

बैठकले रसुवाको स्याफ्रुबेंशी–चीन पुल र सिन्धुपाल्चोकको मितेरी पुल पुनर्निर्माणका लागि परराष्ट्र, ऊर्जा तथा अर्थ मन्त्रालय र चीन सरकारबीच सहमति भएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।