Breaking News

प्रत्यक्ष कार्यकारी राष्ट्रपति अहिलेको एजेण्डा होइन: प्रचण्ड

विराटनगर, २७ जेष्ठ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेण्डा अहिलेको नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा संचारकर्मीसँगको कुराकानीमा प्रचण्डले आगामी निर्वाचनको बेलामा त्यो विषय छलफलमा आउनसक्ने भएपनि अहिलेको लागि सुशासन, समृद्धि र विकास नै प्रमुख एजेण्डा भएको उनले बताए ।

अध्यक्ष प्रचण्डले संघीय समाजवादी फोरमसँग पार्टी एकता हुने सम्भावना तत्काल नरहेको बताएका छन् । उनले राजपालाई पनि सरकारमा ल्याउने विषयमा छलफल भइरहेको तर ठोस कुरा भइनसकेको बताए । शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम पुरा गर्न, सत्यनिरुपण मेलमिलाप र बेपत्ता आयोगको काम छिटो हुनुपर्ने बताउँदै प्रचण्डले पुनः म्याद थप गर्ने सम्बन्धमा सरकारसँग कुरा भएको बताए ।

संघीयता कार्यान्वयन पहिलो प्रयास भएकोले केही जटिलता देखिएको भएपनि यो प्रणाली असफल नै पार्ने नियतले कोही नआएको प्रचण्डले जिकिर गरे । कर्मचारी र राजनीतिक नेतृत्वको बीचमा आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धीको विषयको बुझाइमा भने केही अन्तर देखिएको उनले बताए ।

अध्यक्ष प्रचण्डले २ नम्बर प्रदेशमा पनि सरकार गिराउने र भत्काउने खेलमा लाग्न नहुने बताए । संघीय समाजवादी र राजपाबीचमा देखिएको तनावका कारण नयाँ सरकार बन्नसक्ने भएपनि त्यहाँको एजेण्डा पनि विकास र समृद्धि नै हुनुपर्नेमा प्रचण्डको जोड थियो ।

shares