October 23, 2017

प्रधानमन्त्री आज राजीनामा दिने मुडमा

काठमाडौँ, ९ जेठ । मधेसी मोर्चामा आबद्ध दलहरूले थप कुनै माग नराखे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

मंगलबार संसद्मा विशेष सम्बोधन गर्दै प्रधानमन्त्रीले सत्तासाझेदार दल कांग्रेससँगको पूर्वसहमतिअनुसार राजीनामा दिन लागेका हुन् ।

सोमबार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले पनि प्रधानमन्त्रीको राजीनामाको विषय अनुमोदन गरिसकेको छ । मधेसी मोर्चामा आबद्ध दलहरूको माग सम्बोधन गर्दै मन्त्रिपरिषद्को सोमबारको बैठकले तराईमा २२ स्थानीय तह बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान मोर्चाका नेताहरूसँग छलफल गर्दै छन् । छलफलमा मोर्चाको तर्फबाट थप कुनै माग नआए र परिस्थितिमा परिवर्तन नआए मंगलबार नै प्रधानमन्त्रीले राजीनामा दिने मनस्थिति बनाएको माओवादी प्रवक्ता पम्फा भुसालले बताइन् । यो खबर नयाँ पत्रिकामा छ ।