प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाण्डौ, २३ जेष्ठ । काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा जारी प्रतियोगितामा तीन विभागीय टोलीहरू त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिससहित प्रदेश नम्बर ५ ले सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा प्रदेश ५ लाई ७ विकेटले हराउँदै नेपाल पुलिस समूह बीको विजेताका रूपमा सेमिफाइनलमा पुग्यो । पराजयका बाबजुद प्रदेश ५ पनि सेमिफाइनलमा पुगेको छ । समूह ए बाट आर्मी र एपीएफ क्रमसः समूह विजेता र उपविजेता हुँदै सेमिफाइनलमा पुगिसकेका छन् ।

शुक्रबारदेखि सुरु हुने सेमिफाइनल खेलहरूमा समूह ए को विजेता आर्मीले समूह बीको उपविजेता प्रदेश नम्बर ५ सँग तथा समूह ए को उपविजेता एपीएफले समूह बीको विजेता नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।

टियू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर ५ ले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २ सय रनको मध्यम योगफल बनाएको थियो । २ सय १ रनको लक्ष्य पुलिसले दिपेन्द्र सिंह ऐरीको अविजित अर्धशतकको सहयोगमा ४४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।