Breaking News

मंगलबार शेयर कारोबार ठप्प

काठमाण्डौ, २२ जेष्ठ । हकप्रद र वोनस शेयरको आधार मूल्यमै लाभकर लिने सरकारी निर्णयको विरोध गरिरहेका संगठित लगानीकर्ताहरूले मंगलबार शेयर कारोबार ठप्प पारेका छन् ।

नेपाल इन्भेष्टमेन्ट फोरम, सेयर लगानीकर्ता संघलगायत अन्य लगानीकर्ताका संस्थाले सेयर कारोबार नगर्न दबाब दिएपछि कारोबार बन्द भएको हो । सरकारले बोनस र हकप्रद सेयरमा लाभकर लगाउने भएपछि लगानीकर्ताहरूले लाभकर नहटाएसम्म कारोबार नगर्न ब्रोकरलाई दबाब दिएका छन् ।

नेपाल स्टक एक्चेन्स बाहिर विरोध प्रर्दशन गर्दै उनीहरूले सरकारको उक्त निर्णय फिर्ता नभएसम्म सेयर कारोबार नगर्न आम लगानीकर्ता तथा ब्रोकरलाई आग्रह पनि गरेका छन् । नेपाल इन्भेष्टमेन्ट फोरमका अध्यक्ष अम्विका पौडेलले कुनैपनि नागरिकले आम्दानी गर्दा कर तिर्न तयार रहेपनि नोक्सानमा भने कर तिर्न नसक्ने स्पष्ट पारे ।

कारोबार बन्द भएपछि नेप्से परिसूचक घट्दै गएको छ । आइतबारदेखि लाभकर लागू भएको विरुद्धमा लगानीकर्ताहरूले सेयर कारोबार बन्द गर्न आग्रह गर्दै आएका छन् ।

shares