August 17, 2017

आगामी बजेटमा नयाँ कार्यक्रम समावेश नगरिने अर्थमन्त्री महराको भनाई

काठमाण्डौ, ८ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दे सरकारले आगामी आर्थिक वर्षको बजेटमा नयाँ कार्यक्रम समावेश नगर्ने भएको छ ।

यद्दपि सरकारले पूर्ण आकारको बजेट ल्याउने तयारी गरेको छ । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको छलफलमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षमा खासै नयाँ कार्यक्रम नआउने बताए ।

आगामी वर्षदेखि संविधान कार्यान्वयन हुने भएकाले स्थानीय तहमा वित्तीय हस्तान्तरण, प्रदेश र केन्द्रको निर्वाचनका अतिरिक्त पुनर्निर्माणलाई तीव्रता र राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त बजेट विनियोजन हुनेमा उनले जोड दिए । चालु आवमा पूँजीगत खर्च ८४ प्रतिशत हुने महराले जानकारी दिए ।

यसैबिच अर्थ मन्त्रालयले बजेट सम्बन्धी सबै जानकारी दिने नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ ।’ यस एपमा बजेट वक्तव्य देखि रातो र पहेँलो किताब, आर्थिक सर्वेक्षण सबैको जानकारी लिन सकिने बताइएको छ ।