Breaking News

प्रधानमन्त्री कप क्रिकेट: एपीएफ सेमिफाइनलमा प्रवेश

काठमाण्डौ, २१ जेष्ठ । विभागीय टोली एपीएफ, काठमाडौंमा जारी प्रधानमन्त्री कप वान डे क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रदेश २ लाई ९६ रनले हराएपछि ३ खेलबाट ६ अंक जोडेको एपीएफले आर्मीसँगै अन्तिम चारमा स्थान पक्का गरेको हो । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सोमबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको एपीएले प्रदिप ऐरीको १ सय ५८ तथा सुवास खकुरेलको १ सय ३ रनको मद्दतमा ३ सय ३९ रन बनाएको थियो ।

दोस्रो इनिङ्सको खेल वर्षाले प्रभावित बनेपछि प्रदेश २ ले २८ ओभरमा २ सय २ रनको नयाँ लक्ष्य पाएको थियो । तर उसले २८ ओभरमा ९ विकेट गुमाएर १ सय ५ रन मात्र बनाउन सकेपछि एपीएफ डिएल मेथड अनुसार ९६ रनले विजयी भयो ।

यसैगरी मुलपानी क्रिकेट मैदानमा सोमबार नै भएको खेलमा प्रदेश ३ लाई डिएल मेथडअनुसार ३० रनले पराजित गर्दै प्रदेश ५ ले पनि सेमिफाइनलमा लगभग स्थान पक्का गरेको छ । प्रदेश ५ अन्तिम खेलमा नेपाल पुलिससँग फराकिलो अन्तरले हारेमात्र सेमिफाइनल पुग्न असफल हुनेछ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले ४४ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो । दोस्रो इनिङ्समा प्रदेश ५ ले २० दशमलव ५ ओभरमा ३ विकेट गुमाएर ८९ रन बनाउदा खेल वर्षाले प्रभावित भएपछि डिएल मेथड अनुसार प्रदेश ५ लाई विजयी घोषणा गरिएको हो । हारपछि ३ खेलबाट २ अंक मात्र जोडेको प्रदेश ३ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

shares