आजबाट व्यवस्थापिका संसद्को तेस्रो अधिवेशन सुरु

काठमाण्डौ, ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो अधिवेशन सुरु गर्नका लागि आज दिउँसो संसद् बैठक आह्वान गरेकी छिन् ।

व्यवस्थापिका संसद्को दोस्रो अधिवेशन ३ सय ८१ दिनसम्म चलेर गत बिहीबार अन्त्य भएको थियो । सरकारले जेठ १५ गते आर्थिक वर्ष २०७४/७५ का लागि बजेट ल्याउनुपर्ने भएकाले छिट्टै संसद् बैठक आह्वान गरिएको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त संसदको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने बताइएको छ । संविधानअनुसार संसद् आह्वान र अन्त्य गर्न राष्ट्रपतिले नै संसदमा पत्र पठाउनुपर्ने व्यवस्था छ ।