८ प्रतिशत अार्थिक वृद्धिदरको लक्ष भेट्टाउन कठिन छैन: अर्थमन्त्री

काठमाण्डौ, १७ जेष्ठ । आठ प्रतिशतको वास्तविक आर्थिक वृद्धिदर लक्ष्य महत्वकांक्षी भनेर आचोचना भइरहेको बेला अर्थमन्त्रालयले भने लक्ष्य भेट्टाउन कठिन नरहेको स्पट पारेको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कृषि क्षेत्रको वार्षिक वृद्धिदर ४ दशमलब ५ प्रतिशत नघट्ने विगतको अनुभवको आधारमा ८ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य तय गरिएको स्पष्ट पारे । त्यस्तै, उद्योग क्षेत्रको वृद्धिदर १२ प्रतिशतभन्दा माथि रहने र सेवा क्षेत्रको ८ प्रतिशत हाराहारीमा रहने अनुमानका साथ समग्र वृद्धिदर ८ प्रतिशत पुग्ने उनको भनाइ छ ।

तर, नेपालको कुल ग्राहस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी २९ प्रतिशत रहेको छ । नेपालको कृषि क्षेत्र मौसममा आधारित रहेको र मौसम प्रतिकूल हुनासाथ उत्पादनमा गिरावट आउने विगतले देखाएको छ । कृषि उत्पादन बढ्ने अपेक्षासहित त्यसैलाई आधार बनाएर तय गरिएको आर्थिक वृद्धिदर लक्ष्य भेट्टाउनु चुनौतिपूर्ण नै मानिएको छ ।