वीरगञ्जमा स्कुल बसको ठक्करबाट १ स्कुले छात्राको मृत्यु

राम कुशवाहा / वीरगञ्ज जेठ ८ । वीरगन्जको महावीरस्थान मन्दिर नजिकै आज बिहान स्कुल बसको ठक्करबाट एक छात्राको मृत्यु भएको छ ।

कादम्बरी एकेडमी विद्यालयको ना २ ख ८९३ नम्बरको बसले ठक्कर दिँदा वीरगन्जको महावीरस्थान चोक निवासी राम पटवारीकी १४ वर्षीया छोरी दिया पटवारीको घटनास्थलमै मृत्यु भएको हो ।

दिल्ली पब्लिक स्कुल, वीरगन्जको कक्षा ९ मा अध्ययन गर्ने दिया विद्यालयको बस समात्नका लागि सडक पार गर्दा कादम्बरी एकेडमीको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

घटना पछि सो क्षेत्रको अवस्था केहीबेर तनावग्रस्त बनेको थियो । ठक्कर दिने स्कुल बसलाई प्रहरीले नियन्त्रणमा लिएर थप कारबाही अगाडी बढाएको जनाएको छ । मृतकको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस ईकाईले घटनाको घोर भत्सर्ना गर्दै भोली जिल्ला भरीको सम्पूर्ण शैक्षिक संस्थाहरुमा बन्द आह्वान गरिएको संघका इकाई अध्यक्ष बद्रिनारायण तिवारीले बताए ।