Breaking News

कृषि बजेट: प्रत्येक प्रदेशमा १ औद्योगिक क्षेत्र/कृषकको ऋण मिनाहा

काठमाण्डौ, १५ जेष्ठ । सरकारले कृषि क्षेत्रलाई आधुनिक व्यवसायिक बनाउन कृषि औजार कारखाना स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संघीय संसद्को बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटमा कृषि औजार कारखाना स्थापना गर्ने बताएका हुन् ।

यस्तै सातवटै प्रदेशमा नमूना कृषि फार्म स्थापना गरिनेछ । उखु किसानलाई उत्पादनको आधारमा अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । साना किसानबाट किसानले लिएको सबै ऋण मिनाहा गर्ने कार्यक्रम समेत बजेटमा उल्लेख छ ।

कृषि सहकारी संस्थालाई बीउ विजन उत्पादन केन्द्रका रूपमा रुपान्तरण गर्ने, कृषि, पशुपालन र माछापालनको बीमाको ७५ प्रतिशत प्रिमियम सरकारले तिर्ने व्यवस्था समेत बजेटमा गरिएको छ ।

प्रत्येक प्रदेशमा एक जैविक विषादी केन्द्र र कृषि बजारको सूचना मोबाइलमार्फत प्राप्त हुने व्यवस्था गरिएको छ । चुरे भावर क्षेत्रमा फलफूलको पकेट क्षेत्र घोषणा गरी रोजगारीको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

यस्तै उद्योग दर्तालाई सरलीकृत बनाइने व्यवस्था बजेटमा गरिएको छ भने काठमाडौँमा हस्तकला बिक्री तथा प्रदर्शनी कक्ष बनाइने भएको छ । यस्तै प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र निर्माण गरी औद्योगिक विकासमा जोड दिने लक्ष्य राखिएको छ ।

shares