शिक्षामा १ खर्ब ३४ अर्ब ५० करोड बजेट विनियोजन

काठमाण्डौ, १५ जेष्ठ । आगामी आर्थिक वर्षका लागि शिक्षा विज्ञान प्रविधिको क्षेत्रमा रु एक खर्ब ३४ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा बजेट पेश गर्दै आर्थिक वर्षका लागि शिक्षा विज्ञान प्रविधिको क्षेत्रमा एक खर्ब ३४ अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

विद्यार्थीलाई पाँच प्रतिशत व्याजमा रु सात लाखसम्मको शैक्षिक ऋण दिने कार्यक्रम समेत बजेटमा समावेश छ । बजेटले ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर सबै विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

त्यसैगरी आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने लक्ष्य राखिएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बजेटमा उल्लेख छ ।

त्यस्तै सातवटै प्रदेशबाट श्रम स्वीकृतिका लागि आवश्यक कार्यालयको व्यवस्था गरिने भएको छ ।