Breaking News

देश चुनावमा होमिएको मौकामा डरलाग्दो खेल, ६ अर्ब घोटालामा ४ लाख धरौटी

काठमाडौँ, ८ जेठ । विवादास्पद लागूऔषध दुरुपयोग प्रकरणका प्रमुख अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले ४ लाख रुपैंयाँ नगद धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले गत वैशाख २७ गते अदालतमा हाजिर भएका एस.आर. ड्रग ल्याब्रोटरीजका सञ्चालक सञ्जयकुमार गुप्तालाई उही दिन ४ लाख रुपैयाँ धरौटीमा रिहा समेत गरेको छ ।

स्रोतका अनुसार देशभर स्थानीय निर्वाचनको माहोल बढदै गर्दा फरार भनिएका एसआर ड्रगका सञ्चालकमध्येका एक गुप्ता वैशाख २७ मा जिल्ला अदालत काठमाडौंमा नाटकिय रुपमा हाजिर भएका थिए ।

मुलुकी ऐनको अदालती बन्दोबस्ती महलको ११८ नम्बर व्यवस्थाअनुसार अदालतमा हाजिर हुन आएका गुप्तालाई प्रहरीको जिम्मा लगाई त्यसको जानकारी सरकारी वकिलको कार्यालयमा पठाउनुपर्ने हो ।

बयानपछि अभियोगपत्र, सरकारी वकिलको मागदावी र आरोपितका कानुन व्यवसायीको प्रतिरक्षा बहसका आधारमा थुनछेक आदेश हुनुपर्ने हो । जिल्ला अदालत काठमाडौंले भने सोही दिन सोझै ४ लाख रुपैया धरौटीमा छाडिदिएको हो ।

गुप्तामाथिको मुद्दामा थुनेछक आदेश हुनुअघि सरकारी वकिललाई त्यसबारे जानकारी गराउनुपर्नेमा एस.आर.फर्मास्यूटिकलको लागूऔषध दुरुपयोग प्रकरणमा सरकारी वकिलले कुनै सूचना नपाएको महान्यायाधिवक्ता कार्यालयस्रोतले बतायो ।

प्रतिग्राम २८ दशमलब ९ डलर पर्ने ‘स्युडोइफ्रिडन’ घोटाला प्रकरणमा अवैध रूपमा गायब भएको परिमाण हेर्दा ४ करोड ५५ लाख २८ हजार अमेरिकी डलर पर्छ । प्रचलित विनिमयअनुसार त्यसको नेपाली रुपैया ५ अर्ब ८१ लाख ९ हजार ९२० रुपैया पर्छ । तर सरकारी वकिलको कार्यालयले एक रुपैंया पनि बिगो मागदाबी गरेको थिएन । यो खबर कान्तिपुर दैनिकमा छ ।

shares