September 20, 2017

आज ला लिगा फुटबल उपाधिको छिनोफानो हुँदै

काठमाण्डौ, ७ जेठ । विश्वकै प्रसिद्ध लिग स्पेनिस ला लिगा फुटबलको उपाधिको छिनोफानो आज हुँदैछ ।

ला लिगाको उपाधि होडमा रहेका दुई चिरपरिचित महारथी क्लब रियल मड्रिड र बार्सिलोनाले आज आ–आफ्ना अन्तिम खेल खेल्दैछन् । जारी सिजनको अन्तिम खेलमा आज राती पौने बाह्र बजे रियल मड्रिड र मालागा तथा बार्सिलोना र आइबरबीच प्रतिस्पर्धा हुँदैछ ।

उपाधि होडमा बलियो स्थितिमा रहेको रियलले आज राती मालागासँग उसैको घरेलु मैदान स्टाडियो ला रोसलेडामा प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, उपाधिका लागि जित्नै पर्ने दबाबमा रहेको बार्सिलोनाले आफ्नो घरेलु मैदान नाउ क्याम्पमा आइबरको सामना गर्न लागेको हो ।

तालिकाको पहिलो स्थानमा रहेको रियलको ३७ खेलबाट कुल ९० अंक छ । यता, समान खेलबाट ८७ अंक जोडेको बार्सिलोना तालिकोको दोस्रो स्थानमा छ । यस्तोमा ला लिगाको उपाधि जित्न रियललाई आजको खेल बराबरीमात्र गरे पनि पुग्छ । यता, डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले आजको खेल जिते पनि उपाधि उचाल्न रियल, मालागासँग पराजित हुनुपर्नेछ ।

बार्सा र रियलको समान अंक भएमा मात्र हेड टु हेडमा बार्सिलोनाले उपाधि उचाल्ने छ ।