August 16, 2017

स्थानीय तहअन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि ९० हजार कर्मचारी

काठमाण्डौ, ७ जेठ । जेठ ३१ गतेका लागि तय भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको लागि ९० हजार कर्मचारी खटिने भएका छन ।

४१ जिल्लाका ४ सय ६१ स्थानीय तहमा करिव ९० हजार कर्मचारी खटाइने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले जेठ ३१ को निर्वाचनको लागि कर्मचारी परिचालन गर्न सुरु गरिसकेको छ । आयोगले ४१ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

जेठ ३१ गते हुने निर्वाचनमा प्रत्येक मतदान केन्द्रमा करिब ४ जना कर्मचारी र ३ जना स्वयंसेवक खटिनेछन् । मतदाता शिक्षाको लागि तालिम दिएका प्रशिक्षार्थी समेत खटाइँदैछ । दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ मा निर्वाचन हुँदैछ ।

जेठ ३१ को निर्वाचनका लागि जेठ १९ गते उम्मेद्वार मनोनयन हुने कार्यतालिका छ । आयोगले जेठ २२ गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ ।