मतगणनाको परिणाम अाउने क्रम तीव्र

काठमाण्डौ, ७ जेठ । स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणमा भएको मतदानको परिणाम अन्तिम चरणमा पुगेको छ ।

अहिलेसम्म २ सय ६६ स्थानको परिणाम सार्वजनिक भइसकेको छ । ताजा अवस्थामा एमालेले ११४, कांग्रेसले १०१ र माओवादी केन्द्रले ४६ स्थानमा जित हासिल गरेको छ । एमाले अझै ९ र कांग्रेस ७ स्थानमा अगाडि छ ।

यता, चारवटा महानगरपालिकाको परिणाम आउनेक्रम पनि तीव्र भएको छ । काठमाण्डौ महानगरपालिकामा एमाले उम्मेदवार बिद्यासुन्दर शाक्य आफ्ना निकटतम प्रतिस्पर्धी भन्दा ७ हजार मतले अघि छन् । ललितपुर महानगरपालिकामा कांग्रेस उम्मेदवार चिरिबाबु महर्जन एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकार भन्दा करिब १५ सय मतले अघि छन् ।

भरतपुर महानगरपालिकामा एमाले उम्मेदवार देवी ज्ञवाली कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहाल भन्दा १ हजार मतले अघि देखिएका छन् । उता, पोखरा लेखनाथ महानगरपालिकामा भने स्थगित मतगणना अझै सुचारु हुन सकेको छैन । फर्जी मत भेटिएपछि मतगणना स्थगित गरिएको थियो । विवाद मिलाउन अहिले सर्वदलीय बैठक बसिरहेको छ ।