भाषणमा रमाउने कि रासनमा ?

– संकेत कोइराला

दुई पूर्व अमेरिकी राष्ट्रपति जर्ज बुस र बिल क्लिन्टन सुनामी पीडितलाई सहयोग जुटाउन इण्डोनेशिया पुगे । जर्जर बनेको गाउँ पुगेका उनीहरूलाई आयोजकले छुट्टाछुट्टै बस्ने ठाउँको व्यवस्था मिलाउन सकेनन् । संयोगले उनीहरूको बास एकै ठाउँ मात्र हैन, एउटै कोठामा तय भयो । त्यो कोठामा खाट पनि एउटा मात्र रहेछ । अब खाटमा को सुत्ने ? दुई पूर्व राष्ट्रपतिहरूले एकले अर्कोलाई खाटमा सुत्न आग्रह गरे । क्लिन्टनको तर्क थियो– ‘तपाईं मेरो अग्रज व्यक्तित्व हुनुहुन्छ । तपाईं खाटमा सुत्नुपर्छ । बुस भन्दा रहेछन्– तपाईं विश्वमै अत्यन्त लोकप्रिय हुनुहुन्छ । तपाईंको मर्यादाले भुईंमा सुत्न सुहाउँदैन ।’ अन्ततः क्लिन्टनले लाख प्रयास गरेर बुसलाई खाटमा सुताएरै छोडेछन् । एउटै कोठाको सहवासका कारण यी दुई महारथीबीच स्वभावतः अन्तरंग कुराकानी भए । भोलिपल्ट बुसले सार्वजनिक रूपमै दिल खोलेरै भनिदिए– ‘क्लिन्टन यति असल छन् भन्ने थाहा पाएको भए म यीसंग कहिल्यै चुनावी प्रतिस्पर्धा नै गर्ने थिइनँ ।’

चुम्बकका दुई विपरीत पात्र भएर राजनीति गरेका केपी ओली र पुष्पकमल दाहालबीचको निकटता पनि यस्तै चटके संयोग हो । एउटा टेबुलमा जोर अध्यक्ष राखेर जुन सेल्फी आतंक मच्चाइयो, त्यस्तो दृश्य जहाजको ककपिट त परै जाओस् बसपार्कको सस्तो भट्टीमा पनि सम्भव छैन । मन मिलेपछि भयको स्थान रहनु हुँदैन । मुलुकको यति शक्तिशाली प्रधानमन्त्री प्रतिपक्षीको एउटा सांसद गगन थापाको आरोप छेक्नमा सम्पूर्ण सामर्थ्य लगाउँछ भने त्यो सरकारको जग कति बलियो होला आफैं अन्दाज गर्न सकिन्छ ।

नारायण गोपाल भन्थे– ‘गीत गाउन त गीतै गाउनु पर्छ ।’ हो, सफल राजनेता हुन जनताको मन जित्ने काम नै गर्नुपर्छ । नाराले आगो बल्दैन । आगो बाल्न सलाई चाहिन्छ । भाषणको विकल्प भाषणमा रमाउनु भनेको धानको मिलको फित्ताले धेरै यात्रा गरें भनेर मख्ख पर्नुजस्तै हो । त्यसै पनि कम्युनिष्ट दीक्षाधारीहरू प्रचारमा बढी विश्वास गर्छन् । आलोचना नरुचाउनु उनीहरूको अर्को कमजोरी हो । यतिबेला सामाजिक सञ्जाल कम्युनिष्ट एकताको दीव्यधाराले सिञ्चित छ । आत्मरतिका स्वर प्रबल बनेका छन् । यो विलयलाई सिया र सुन्नी मुसलमान एकाकार भएको भन्दा चामत्कारिक ढंगले प्रस्तुत गरिँदैछ । मानौं, जसले विश्वको मानव सभ्यतामै असर गरोस् ।

वास्तवमा भीड बढेर केही हुन्न । भीडले गरेको निर्णय आत्मघाती हुन्छ । महाभारतमा लाखौं करोडौं मारिए । कृष्ण, अर्जुन, युधिष्ठिर, भीमलगायत एकाध दर्जनको मात्र नाम अमर छ । रामायणमा धनजनको त्यत्रो क्षति भयो । आखिर राम र रावणको नाममा त्यत्रो इहलीला पूर्णविराम लाग्यो । मार्क्स–एंगेल्स नङमासु भएकै हुन् । स्वार्थको झुसिल्किरा पसेपछि उनीहरूको उत्तरार्द्ध पानी बाराबारको अवस्थामा पुग्यो । छोरी जेनीको मृत्यु हुँदा कात्रो र अन्न किन्ने पैसा नभएको भन्दै मार्क्सले भलिभाँती गुनासो गरेका छन् । आफ्ना भक्तहरूको राजनीतिक भविष्य सुरक्षित राख्न या पार्टीभित्रकै समानान्तर शक्तिलाई निस्तेज गर्न ओली–दाहाल एकता अस्त्र हो भने त्यो धेरै दिन टिक्दैन । यदि अन्तरआत्माको आवाज हो भने त्यो मन नभएर मस्तिष्क निर्देशित हुनुपर्छ । शान्तिप्रक्रियाका ती दिनमा ओली राजनीतिका अछूत पात्रजस्तै थिए । प्रचण्डको जुँगा चल्दा गिरिजाप्रसाद आद्योपान्त बुझ्थे । गिरिजाप्रसादले चुरोट तान्दा फालेको धुवाँबाट प्रचण्डको स्याटेलाईट फोनले सन्देश ग्रहण गर्थ्यो । जब सत्ता र शक्तिको उन्मादले प्रचण्डमा दम्भ देखियो, त्यसपछि गिरिजाप्रसाद शक्तिहीन पदलोलुप बृद्ध बनेर बिझाउन सुरु गरे ।

सहमति र असहमतिबीच एउटा सामान्य घेरोको अन्तर छ । नेताहरूले घाँटीघाँटीसम्म मार्क्स, लेनिन र माओवाद कण्ठ गरे । आखिर ती सबै वाद निष्फल भएर अन्ततः लम्पसारवादको आरोप खेप्न उनीहरू बाध्य छन् । नेपालको राजनीतिमा सफलताको कोर्स कहाँबाट सुरु हुन्छ ? त्यसको सपाट जवाफ कोहीसंग छैन । धोखाघडीका कथा भन्ने साहस कसैमा छैन । बीपी कोइरालाले दुई देशको सम्बन्धमा भोगेका हण्डर र ठक्करको बखान आफ्नो कृतिमा औंल्याएका छन् । यद्यपि त्यो पढेर भेलबाढीबाट बच्ने जाँगर कसैमा छैन । चलचित्रको नाम र कलाकार फेरिए पनि कथानक उही छ । हाम्रो कुटनीति भनेको हलो तान्दा तान्दा लम्पसार भएको गोरुले अर्को हलो पाए राम्रोसंग जोत्छु भने जस्तै हो । आखिर हलो त जुन भएपनि हलै हो । नेपाली राजनीतिज्ञ नियतिको नभई नियतको बन्धक बन्दै आएका छन् । भारतीय प्रधानमन्त्रीले नेपाल आएर पशुपति, मुक्तिनाथ र रामजानकी मन्दिरको बखान गाउँदा हौसिएर ताली पिट्नु भनेको छिमेकीले तिम्रा बाउआमा यी हुन् भनेर प्रमाणित गरिदिनु जस्तै हो ।

माओवादीले उत्पादन गरेको दुबोमा मुलुकको सम्पूर्ण राजनीतिक घोडा यतिखेर घाँस चरिरहेको छ । संघीयता, गणतन्त्रका एजेण्डा उठाउँदा प्रचण्डलाई ठेलागाडाबाट अमेरिका जान खोज्ने कालिदास यात्रीको संज्ञा दिने ओली मुलुकको सारथी छन् । यी दुई नेतालाई सृष्टि र पालनकर्ताको उपमा दिएर स्वार्थको रोटी सेक्नेहरूको अपार भीड छ । जुन आफ्ना सन्तान रोए मुटु दुख्ने, अरुका रोए टाउको दुख्नेहरूको स्वार्थी झुण्ड हो । यही अवसरवादी समूहको दाउपेचका कारण केही अस्वाभाविक कर्म भइरहेका छन् ।

प्रधानमन्त्री सरकारी पद हो । उनी बस्ने निवास जनताको काम चुस्त, दुरुस्त होस भनेर सरकारले उपलब्ध गराएको हो । तर पार्टी एकताका प्रक्रिया सबै त्यहीँ सम्पन्न गरिए । भोजभतेर त्यहीँ चलाइए । दलका उपल्लो तहका नेताले सच्चा कम्युनिष्ट हुने सपथ सरकारी निवासमै लिए । वास्तवमा सरकारी थलोमा प्रधानमन्त्रीभन्दा कमरेड केपी ओली नामको सटरमा व्यापार अधिक हुन थालेको छ । ओली र दाहालले कम्युनिष्ट फलाउन फुलाउन प्रधानमन्त्री निवासमा रोपेको विरुवा अर्को चुनावमा काँग्रेसलाई सत्ता हस्तान्तरण गर्ने कालो सपनाको प्रतीक बनेर गिज्यायो भने के हुन्छ ? अहिले ताली पड्काउनेहरू नै त्यो बेला गद्दारीको कालो मोसो लिएर खुचिङ गर्ने छन् । त्यसै पनि काँग्रेस निष्ठा, कर्म र लगानीले नभएर आफैं उम्रिने वस्तु हो । अरुतिरबाट छिन्किएका कनिका नै काँग्रेसका लागि भारी हुने अवस्था नआओस् ।

साठी वर्षअघि बीपी कोइरालाको यस्तै सरकारले १७ महिनामै पानी भन्न नपाएको इतिहाससंग वर्तमान सत्ताधारी झस्किनु आवश्यक छ ।‘ओहो सुवर्णशम्शेर कत्रो धनी मानिस कलकत्तामा तपाईंले देख्नु नै भएको छैन । भान्छाघर जहाँ चौबीसै घण्टा भान्छे बसेर पकाइरहन्थे । किसिम किसिमका नोकरहरू । जहाँ गएपनि घर, व्यापारिक केन्द्र र उहाँको पुस्तकालय पनि भव्य थियो । चट्ट गएर पुस्तकालयमा बस्यो, नोकरचाकर त्यहीँ नै आइरहन्थे । जे माग्यो त्यो ल्याइदिन्थे । अब त्यस्तो जीवन त बिताउनै सक्दिन । यति हुँदाहुँदै पनि सुवर्णशम्शेरजीको पीडा पनि मलाई थाहा छ । जसलाई तपाईं महान सुखी भन्ठान्नुहुन्छ, त्यो महान दुखी हुन्छ । सुवर्णजीको दुख हामीलाई थाहा छ । हामीलाई जति थाहा छ, त्यो भन्दा सयौं गुणा बढी उहाँलाई नै थाहा छ । उहाँको माहिला छोरा जसमाथि उहाँको सारा भर र विश्वास केन्द्रित थियो । तर, त्यही छोराको अल्पायुमै मृत्यु भयो ।’

समय कति निर्मम हुन्छ । अहिले प्रचण्डलाई इतिहासले त्यही ठाउँमा उभ्याएको छ । यो वियोग शान्त गर्न पनि उनले सेवामा जीवन अर्पित गर्न जरुरी छ । आफ्नो स्मरणमा सुवर्णशम्शेरलाई यसरी अटाउने नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई स्वयं आफू कहाँ छन् , पत्तो छैन । निष्काम, कर्मयोगका यी दिव्यपुरुष आखिर जीवनको उत्तरार्द्धमा न हाँसको चाल, न बकुल्लाको चालजस्तै परिचयविहीन बनाइए । सम्झाउनी बिर्साउनीका रूपमा उनका नाममा रहेको आश्रम एउटा आस्थापुञ्ज धाम हुनुपर्नेमा एउटा क्लबको हैसियत पनि लिन सकेको छैन । दुखका बेला पूरै कांग्रेस पार्टीलाई नै काँध हाल्ने सुवर्णशम्शेरको फोटोमा कांग्रेसजन फूल, अबिर त धस्काउँछन् तर रुचिसाथ नाम लिँदैनन् । बीपी पत्नी सुशीला नाचेर कमाएको पैसाले चना किनेर कार्यकर्ता पाल्थिन् । भीमबहादुर तामाङ फूलमा पानी हाल्थे । गिरिजाप्रसाद, सुशील कोइराला खोले फाँडो जुटाउन पत्रिका बेच्ने गर्थे । रेलमा भेटेर ल्याएको एउटा लावारिस केटोलाई बीपीले पढाई, बढाई भारतीय साहित्यको ज्वजल्यवान सितारा बनाए । जुन व्यक्ति फणिश्वरनाथ रेणुका नाममा भारतमा अजर अम्मर छ । उल्टो अहिले बीपीको सपनामा टेकेर आफ्नो सपना साकार बनाउनेहरू कांग्रेसभित्र समाजवादका व्याख्याता भएका छन् ।

भोग विलास र सुख सुविधामा हैन, नेताको उचाई इमान्दारी र निष्ठामा चहकिलो बन्दै जान्छ । त्याग नेतालाई खार्ने अचूक अस्त्र हो । विश्वका कुनै पनि राजनेता सुख, दुखलाई समभावमा हेर्ने चरित्रका कारण मर्यादाको उपल्लो श्रेणीमा पुगेका छन् । दक्षिण अफ्रिका मात्र हैन, अफ्रिकी भूगोल नै नेल्शन मण्डेलाको नामबाट परिचित छ । अंग्रेजले भारतमा तोप, गोला, बारुदको साम्राज्य जमायो तर त्यो भौतिक तागतले लुरे महात्मा गान्धीले लिएको अहिंसाको ब्रतलाई अलिकति हल्लाउन त के फर्केर हेर्न पनि सकेन । दुखको छायाँले कस्को जीवन रुझेको छैन र ?

युगपुरुष कहलिएका महात्मा गान्धी आफ्नो बाल्यकालको जीवनगाथा यसरी प्रकट गर्छन्– ‘खल्तीबाट पैसा चोर्ने, बिंडी पिउने, दुर्गुण सिक्ने बेलामा मेरो उमेर १२, १३ वर्षको थियो होला । तेस्रोचोटि मेरो चोरी मांसहारी दाजुको सुनको बालाको टुक्राको थियो । उनलाई लगभग २५ रुपैयाँको मामुली कर्जा लागेको थियो । त्यसको भुक्तानीका बारेमा हामी दाजुभाइले सोचिरहेका थियौं । मेरो दाजुका हातमा सुनका खँदुवा बाला थिए, त्यसबाट एक तोला झिक्नु ठूलो कुरा थिएन् । बाला काटियो कर्जा तिरियो तर मेरा लागि यो कुरा असह्य भयो । मैले भित्रभित्रै निश्चय गरें कहिल्यै चोरी गर्ने छैन । मलाई लाग्यो– मैले यो कुरा पिताजीलाई भन्नुपर्छ । मुख खुलेन । मैले चिट्ठीमा दोष कबुल गर्दै सजाय माग गरें । चिट्ठी दिँदा मेरा हात कामेका थिए । उहाँले चिट्ठी पढ्नुभयो । आँखाबाट आँसु झार्नुभयो । चिठ्ठी आँसुले भिज्यो । म पनि रोएँ । बुबाको दुख बुझें । यदि म चित्रकार हुन्थें भने त्यो चित्र आज राम्रोसंग तयार गर्न सक्थें ।’

म्याक्सिम गोर्की अाफू भात खान नपाएर मरे तर उनले आफ्नो ख्याती आमा कृतिमार्फत् संसारका हरेकको जीब्रोमा स्थापित गराए । लोभ अपराधको जननी हो । यदि अम्लेठ खानेले अण्डाको माया ग¥यो भने के हुन्छ ? सम्पतिसंगको साइनो र राजनीतिक ब्रतबीचको अन्तर पनि यही नै हो । जो कसैको कुरा सुन्दैन त्यो पनि असफल । जो सबैको कुरा सुन्छ त्यो पनि असफल । जबसम्म पाप पाक्दैन तबसम्म मिठो हुन्छ । तर फल लाग्न थालेपछि भने पीडा दिन्छ यसले । राजा जनकको प्रवृतिपथ धनको बीचमा रहून्, पलायनवादी संस्कृतिको जन्म नदेऊ । जंगलमा भागेर केही बन्ने वाला छैन । व्यक्तिको आचरण वा लोकापवादबाट लागेको दुख होस् सारा कुराको निवारण भाग्नेबाट नभई जाग्नेबाट हुन्छ ।

असन्तुलित तरिकाले प्रयोग गरिएका अवैज्ञानिक क्रियाकलापहरूलाई बुद्धले तोड्न चाहेका एक राजाको छोरा बुद्धमा परिणत भयो । अन्यथा त्यो मानव राजकुमार हुन्थ्यो । यहुदी समाजमा मानवीय इच्छाहरूलाई दबाउने जस्ता क्रियाकलापहरू नभएका भए जिसस क्राइष्टको जन्म हुने थिएन । यहुदीले खडा गरेको सामाजिक बन्धनलाई तोड्नका लागि एक साधारण कार्पेन्टर भएर जिन्दगी गुजार्न क्रियाशील युवक जिसस् बन्नु परेको थियो । स्वतन्त्र अवस्थाको कुनै आकार प्रकार हुँदैन । आकार प्रकार नभई प्रणाली बन्दैन । प्रणाली नभई मानव समाज चल्दैन । किनकी प्रणाली नभई नीति नियम बन्दैनन् । त्यसैले त पागल स्वतन्त्र हुन्छ तर साधारण मानिस स्वतन्त्र हुँदैन ।

प्रतिक्रियाका लागि: sanketkoirala07@gmail.com

यो पनि पढ्नुहोस्-

ओली तन्त्र, मोदी मन्त्र