अब देखी भक्तपुरमा पनि साझा यातायात चल्ने

काठमाण्डौ, ७ जेठ । लामो समयको प्रयासपछि साझा यातायातले भक्तपुरमा पनि सेवा विस्तार गर्ने अनुमति पाएको छ ।

ललितपुरको यातायात व्यवस्थापन समितिले २० वटा साझा बसलाई भक्तपुरको नयाँ बाटोमा चल्ने गरी रुट इजाजत दिएको हो । अब स्वयम्भुबाट सीतापाइला, कलंकी, रवीभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, शहीद गेट, सिंहदरबार, माइतिघर, बबरमहल, नयाँबानेश्वर, मीनभवनहुँदै कोटेश्वरसम्म चल्ने सबै बस नयाँ बाटोबाट भक्तपुरको सूर्यविनायकसम्म चल्नेछन ।

साझाले कोटेश्वरबाट सानोठिमी, पुरानोठिमी, भक्तपुरहुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किने गरी रुट मागे पनि त्यो भने अनुमति दिइएको छैन । यातायात व्यवस्था विभाग साना ठूला सवारी कार्यालयले २० वटा बस नयाँ बाटोमा चल्न पाउने गरी अनुमति दिएको हो । समितिको निर्णयको भक्तपुरका यातायात व्यवसायीले विरोध जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएका छन ।