Breaking News

‘माअोवाद’ र ‘बहुदलीय जनवाद’लार्इ संष्लेषण गरी नयाँ ढंगले नेकपा अघि बढ्छ: बादल

काठमाण्डौ, ७ जेष्ठ । वर्तमान सरकारका गृहमन्त्री एवं नवगठित नेपाल कम्युनिष्ट पार्टीको ९ सदस्यीय सचिवालय सदस्यमध्येको एक प्रभावशाली नेता रामबहादुर थापा बादलले पार्टी नेतृत्व र अन्य नेताहरूको भूमिकाको विषयमा कुनै समस्या नरहेको बताएका छन् । अोली र प्रचण्ड दुवै सहअध्यक्षको भूमिकामा रहेकाले दुवै नेताको निर्णय र हस्ताक्षरबाट नै निर्देशनहरू जारी हुने तथा बैठकको अालोपालो अध्यक्षता गर्ने भन्ने पद्धति निर्धारण गरिएकोले पार्टी नेतृत्व वास्तवमा कसले गर्ने बारे कुनै दुविधा नरहेको मन्त्री बादलको भनाइ छ ।

हिमालय टेलिभिजनको नियमित साप्ताहिक कार्यक्रम ‘धमलाको हमला’मा बोल्दै  बादलले उक्त कुरा बताएका हुन् । कार्यक्रममा अध्यक्ष द्वयबाहेकका नेताहरूको भूमिकाको बारेमा सोधिएको प्रश्नमा नेता बादलले ४४१ जना केन्द्रीय सदस्य राख्ने सहमतिले उक्त भूमिकाको निर्धारण र नेतृत्वको व्यवस्थापन हुने बताए ।

व्यक्तिगत द्वन्द्व र विरोधबीच दुर्इ अलगअलग धारको नेतृत्व गर्दै अाइरहेका नेता द्वयबीचको ‘केमेस्ट्री’ कसरी मिल्न गयो भन्ने कार्यक्रम प्रस्तोता ऋषि धमलाको प्रश्नको जवाफमा नेता बादलले पार्टीभित्र र बाहिरी वैचारिक संघर्ष र छलफलकै अाधारमा यो सम्भव भएको र उक्त संघर्ष रहुञ्जेल पार्टी अस्तित्वमा रहिरहने तथा पार्टी रहुञ्जेल वैचारिक संघर्ष पनि रहने बताए ।

माअोवादी एमालेमा विलय भएको भन्ने जस्ता बाहिरी विश्लेषण र तर्कको खण्डन गर्दै उनले सो कुरा पुष्टी गर्ने कुनै अाधार नभएको भन्दै बरु दुवै पार्टी विघटन भएर त्यही अाधारभूमिलार्इ टेकेर नयाँ पार्टी र संगठनको रूपमा जन्मिएको उनले तर्क गरे । हाइड्रोजन र अक्सिजन मिलेर पानी बनेको दृष्टान्त प्रस्तुत गर्दै उनले कुनै पार्टी दोस्रो पार्टीमा विलय नभएको जिकिर गरे । तत्कालीन दुर्इ पार्टीका अलग सिद्धान्त ‘माअोवाद’ र ‘बहुदलीय जनवाद’लार्इ अबको नेकपामा संष्लेषण गरी नयाँ ढंगले सम्बोधन गर्न सकिने उनले बताए ।

अन्तर्वार्तामा मन्त्री बादलले कुनै पनि बाह्य शक्ति वा प्रतिक्रियावादीहरूले नेकपालार्इ फुटाउन नसक्ने विश्वास व्यक्त गरेका छन् । विभिन्न अावरणमा देखिएका मुठ्ठीभरका भ्रष्टहरूलार्इ राज्यको शून्य सहनशीलताको नीति, अामजनताको समर्थन, पार्टीहरूको एक ढिक्के सहमतिका कारण सजिलै ठेगान लगाइने पनि मन्त्री बादलले बताए । अपराधतन्त्र र तस्करहरूको संजाललार्इ भताभुङ्ग पार्ने सरकारको योजना रहेको प्रष्ट्याउँदै  विकास र समृद्धिका लागि भ्रष्टाचारको उन्मूलन गरिने उनले जिकिर गरे ।

अव्यवस्थित ट्राफिक र यातायात व्यवस्थापनका कारण राजधानी नै दूर्गम भएको स्थिति रहेको स्वीकार्दै स्थानीय जनप्रतिनिधि र सरोकारवालाको सहकार्यमा छिट्टै यसको न्यूनिकरणतर्फ सरकार लागेको उनले बताएका छन् । सबै क्षेत्रमा रहेको सिण्डिकेट तोड्ने प्रतिबद्धता पनि कार्यक्रममा उनले व्यक्त गरे ।

अन्तर्वार्ताको भिडियो हेर्नुहोस्-

shares