आगलागीबाट झापामा ८ घर खरानी, १० लाखको क्षति, थप विवरण आउन बाँकी

पंकज शर्मा/झापा, ७ जेष्ठ । झापाको दक्षिणी क्षेत्र कचनकवल गाउँपालिका ४ स्थित पक्लीभिट्टामा आगलागी हुँदा दश लाख मूल्य बराबरको क्षति भएको छ ।

आइतबार राती ११ बजे शाह आलमको घरमा विद्युत् सर्ट भर्इ आगलागीमा परी आठवटा घर पुर्णरूपले क्षति पुगेको इलाका प्रहरी कार्यालय वनियानीले जनाएको छ । इलाका प्रहरी कार्यालय वनियानी र सशस्त्र प्रहरी कार्यालय विओपी केचनाबाट खटिएको गस्ती टोली लगायत स्थानीयले सोमबार बिहान २ बजे आगो नियन्त्रणमा लिएको वनियानी इलाकाका सइ उदय शम्शेर जबराले जानकारी दिए ।

आगलागीबाट टिनको छानो भएका फुस्को घर, तीनवटा चौपाया, अन्नपात र पाँचवटा घरमा आंशिक क्षति पुगेको छ भने ४३ जना मानिस प्रभावित बनेको सइ जबराको भनाइ छ । घट्नाको विस्तृत विवरण आइनसकेको भएतापनि अनुमानित १० लाख रूपैयाँको क्षति भएको उनले जनाए । घट्नापछि पीडित परिवारको लागि उचित राहत व्यवस्थापनको लागि पहल भइरहेको उनले जानकारी दिए ।