प्रचण्डलार्इ धुम्वाराहीमा अोलीको स्वागत

काठमाण्डौ, ४ जेष्ठ । नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालीन एमालेको केन्द्रीय पार्टी कार्यालय धुम्वाराहीमा स्वागत गरिएको छ ।

नवगठित नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले प्रचण्डसहितका नेताहरूलाई धुम्वाराहीमा स्वागत गरिएको हो । धुम्वाराहीमा ओलीले प्रचण्डलाई पुष्पगुच्छा प्रदान गरी पार्टी कार्यालय प्रवेश गराएका थिए ।

सो क्रममा तत्कालीन एमालेका नेताहरूले तत्कालीन माओवादी केन्द्रका नेताहरूलाई धुम्वाराही कार्यालयको निरीक्षण भ्रमण गराएका थिए । अध्यक्षद्वय ओली र प्रचण्ड , सचिवालय सदस्य लगायतका नेताहरूले धुम्वाराही पार्टी कार्यालयको भौतिक संरचना, विभिन्न विभाग रहेको स्थान , कार्यालय सञ्चालन पद्धतिका बारेमा जानकारी लिएका थिए ।

नवगठित नेपाल कम्युनिष्ट पार्टीको प्रशासकीय कार्यालय धुम्वाराही हुने सहमति यसअघि नै भइसकेको छ । पार्टी एकतापछि धुम्वाराहीमा रहेको तत्कालीन नेकपा एमालेको पार्टी कार्यालयका सबै बोर्डहरू परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी अंकित बोर्ड राखिएको छ ।