प्रचण्ड समूह एमालेमा विलय भएको किरातीको अारोप

काठमाण्डौ, ४ जेष्ठ । नेकपा माओवादी केन्द्रका राष्ट्रिय भेला आयोजक समिति संयोजक गोपाल किरातीले पार्टीबाट प्रचण्ड समूह एमालेमा विलय भएको बताएका छन् । उनले पुष्पकमल दाहाल प्रचण्डलार्इ पार्टीबाट बिदाई र वैचारिक राजनीतिक रूपले दाहसंस्कार गरिएको बताए । उनले भने,’एमालेकरण हुन जानुभएका साथीहरूसँगै प्रचण्डलाई विदाईसँगै वैचारिक राजनीतिक रूपमा दाहसंस्कार पनि हामीले गरेका हौँ।’

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै किरातीले प्रचण्डलगायत एकता प्रक्रियामा गएका नेताहरू वैचारिक हिसाबले स्खलित र पलायन भएको बताउँदै अब माओवादी केन्द्रको नेतृत्व आफूले गर्ने दाबी गरेका छन् । पुजींवादी गणतन्त्र स्थापनासम्म आइपुग्दा सकारात्मक भूमिका खेलेका पुष्पकमल दाहाल (प्रचण्ड) समूह हाल आएर मार्क्सवाद–लेलिनवाद–माओवादको विचार, बल प्रयोगको सिद्धान्त आधारित राजनीतिक कार्यदिशा र पहिचान मुद्दा परित्याग गरी नव–प्रतिक्रियावादि कित्तामा पलायन भएको समेत किराँतीले आरोप लगाए ।

पत्रकार सम्मेलनमा उनले पुष्प कमल दाहालले राजनीतिक कार्यदिशा र पहिचानको मुद्दा छाडेको आरोप लगाउँदै अब माअोवादी केन्द्रलार्इ अाफ्नो नेतृत्वमा निरन्तरता दिने बताए । प्रचण्डले एमाले र माओवादीको एकता प्रक्रियामा लागेदेखि नै माओवादी पुनर्गठन अभियानमा लागेका किरातीले अहिलेसम्म १२ जिल्लामा जिल्ला समन्वयन समिति र २२ जिल्लामा सम्पर्क समिति पुनर्गठन गरेको बताए । यस्तै राष्ट्रिय भेलाका लागि ३३ सदस्यीय सम्मेलन आयोजक समितिसमेत गठन भैसकेको उनले दाबी गरे ।