Breaking News

जेठ ७ गते राष्ट्रपति भण्डारीले संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने

काठमाण्डौ, ४ जेष्ठ । आगामी जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने भएकी छिन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ९५ उपधारा दुईमा संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था अनुसार सम्बोधन गर्न लागेकी हुन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिले सम्बोधन गर्नेबारे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

मन्त्रिपरिषद्को वैशाख ३१ को बैठकले जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको थियो । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ । त्यस्तै बैठकमा सभामुख महराले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

सभामुख महराले देशका विभिन्न स्थानमा महिला हिंसा बढेको, बाढीपीडित र भूकम्पपीडितले उचित राहत नपाएको जस्ता विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएको भन्दै सो विषयमा सरकारको धारणा माग गरे ।

सांसदहरूको मागलाई गम्भीरतापूर्वक लिई कार्यान्वयन गर्न सभामुख महराले सरकारलाई ध्यानाकर्षण पनि गराए । बैठकमा गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ पेश गरेका थिए ।

shares