Breaking News

सडक विस्तार कार्य समयमै सम्पन्न गर्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाण्डौ, ४ जेष्ठ । सडक विस्तार र व्यवस्थापनको कार्य समयमा नै सम्पन्न नभएको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा उनीहरूले विकास निर्माणका कार्यमा बहाना नखोज्न पनि आग्रह गरेका छन् ।

बैठकमा सांसद राधेश्याम अधिकारीले काठमाडौँ उपत्यका र काठमाडौँ बाहिर जाने सडक विस्तार कार्य अझै नसकिएको र विस्तार भएका सडक अहिलेसम्म निर्माण हुन नसक्दा जनताले कठिनाइ भोग्नु परेको बताए ।

उनले सरकारले विभिन्न उपायहरू अवलम्वन गरी सडक निर्माण कार्य समयमा नै सक्न ध्यानाकर्षण गरे । सरकारी निकायबिच समन्वयनकारी भूमिका हुन नसक्दा सडकका क्षेत्रमा समस्या देखिएको उनको भनाइ छ ।

त्यस्तै सांसद रामनारायण बिँडारीले सडक निर्माणमा ठेकेदार कम्पनीले ढिला गरेकाले जनताले सास्ती झेल्नुपरेको बताए । उनले समयमा काम नसक्नेलाई कारवाही गर्न मागसमेत गरे ।

सांसद कोमल ओलीले आर्थिक वर्षको अन्त्यमा बजेट खर्च हुँदा विकास निर्माण प्रभावकारी हुन नसकेको, शहरी सडकमा भएको पिचसमेत एक महिनामै भत्किने गरेकाले बजेट खर्च गर्ने नाममा कमजोर निर्माण कार्य नगर्न सरकारको ध्यानाकर्षण गरिन् ।

shares