औद्योगिक क्षेत्र विकासका लागि महत्वपूर्ण योजना तयार

काठमाण्डौ, ४ जेष्ठ । अर्थमन्त्री युवराज खतिवडाले औद्योगिक क्षेत्रको विकासका लागि सरकारले महत्वपूर्ण योजना तयार गरेको बताएका छन् ।

काठमाण्डौमा जारी नेपाल ट्रेड समिटमा बोल्दै उनले आर्थिक विकासका लागि औद्योगिक नीति समयानुकूल बनाइने र त्यसका लागि सरोकारवालाहरूसँग छलफल भइरहेको बताएका हुन् ।

आयातमा मात्र भर पर्दा स्वदेशी उद्योगधन्दा धराशायी बन्दै गइरहेको उनको भनाइ छ । अन्य देशसँगको व्यापार-घाटा न्यूनिकरण गर्दे लैजाने सरकारको योजना रहेको सुनाउँदै उनले स्वदेशी उद्योगधन्दाबाट उत्पादीत वस्तुको बजारिकरणलाई ध्यान दिइने उल्लेख गरे ।

स्टिल, सिमेन्ट र उर्जा क्षेत्रमा काम गर्ने उद्योगी, व्यवसायीहरू एवं सरोकारवालाहरूलाई एउटै साझा थलोमा ल्याई व्यवसायिक अन्तर्क्रिया गराउने उदेश्यले नेपाल ट्रेड समिटको आयोजना गरिएको हो । स्टिलमिन्ट इभेन्टस् इन्डियाले आयोजना गरेको समिटमा नेपाल, भारत लगायत ७ राष्ट्रका प्रतिष्ठित स्टिल उद्योगीहरू, सिमेन्ट र ऊर्जा उत्पादकहरूको सहभागिता रहेको थियो ।