सुरक्षा कारबाहीमा बोको हरामका १५ लडाकु मारिए, अपहरित ५३ जना मुक्त

काठमाण्डौ, ४ जेष्ठ । नाइजेरियाको विद्रोही समूह बोको हरामद्वारा अपहरित ५३ जनालाई मुक्त गराइएको छ । उनीहरूलाईसरकारी सेनाको टोलीले उत्तरपूर्वी बोर्नो राज्यबाट अपहरणमुक्त गराएको जनाइएको छ ।

३३ जना महिला, १६ जना बालबालिका र चार जना पुरुष अपहरणमुक्त भएको सेनाका प्रवक्ता ओन्येम वाचुकुले जनाए ।  बोको हराम विरुद्ध भएको सुरक्षा कारबाही अभियानका क्रममा सरकारी सेनाले उनीहरूलाई अपहरणमुक्त गराएको हो ।

नाइजेरिया सरकारले मे महिनामा मात्रै हालसम्म बोको हरामको नियन्त्रणमा रहेका एक हजार जनालाई मुक्त गराइसकेको छ । त्यस्तै नाइजेरियाली सेनाले देशका विभिन्न ठाँउमा गरेको सुरक्षा कारबाहीका क्रममा त्तर पूर्वी राज्य बोर्नो र दक्षिणी राज्य लेक चाड बासिन क्षेत्रमा बोको हरामका १५ लडाकु मारिएका छन् ।

चार जना लडाकू सेनाले थापेको विद्युतीय धरापमा परेर र ११ जनालाई लुकिरहेको बेला घेरेर सुरक्षा कारबाही गर्दा मारिएका थिए । सन् २००९ मा सुरु भएको बोको हरामको हिंसात्मक गतिविधिका कारण नाइजेरियामा अहिलेसम्म २० हजार जनाले ज्यान गुमाइसकेका छन् भने २३ लाख विस्थापित भएका छन् । -एजेन्सीको सहयोगमा