Breaking News

भूकम्प-पीडितको लागि लक्षित गरी थप डेढ खर्ब बजेट माग

काठमाण्डौ, ३ जेष्ठ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सिईओ) युवराज भुषालले भूकम्प-पीडितको लागि काम गर्नको लागि आगामी वर्षको बजेटमा प्राधिकरणलाई थप डेढ खर्ब बजेट आवश्यक रहेकोले सोही बमोजिम विनियोजन गर्न सरकारसमक्ष माग गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै कार्यकारी प्रमुख भुषालले आगामी वर्षको बजेटमा प्राधिकरणलाई कम्तिमा डेढ खर्ब बजेट विनियोजन हुनुपर्नेमा जोड दिए । उनले पछिल्लो समय मुलुकमा अनौपचारिक अर्थतन्त्र मौलाएकोले बजेट ल्याउँदा रियलिष्टिक भएर ल्याउनुपर्ने पनि बताए ।

बजेटमा नयाँ–नयाँ कार्यक्रम ल्याउनुभन्दा पनि भएका कार्यक्रम र परियोजनाहरूलाई सम्पन्न गर्नेगरी अगाडि बढ्न सरकारलाई उनको सुझाव छ । उनले संघीयता कार्यान्वयनको चरणमा सरकार अघि बढ्नुपर्ने भएकोले स्थानीय तहलाई रकम मात्रै दिएर नहुने बरु स्थानीय तहलाई क्षमता विकास गराउनतिर लाग्नुपर्ने बताए ।

त्यस्तै उनले आर्थिक अनुशासन कायम गर्दै आफूले जति गर्न सक्ने हो त्यति नै गर्नेगरी बजेट ल्याउन सुझाव दिए ।

shares