एमाले-माअोवादी एकता: यस्तो बन्यो ९ सदस्यीय हाइकमाण्ड

काठमाण्डौ, ३ जेष्ठ । एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा पार्टी सञ्चालनका लागि निर्णायक ९ सदस्यीय हाइकमाण्ड बन्ने निश्चित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । स्रोतकाअनुसार विष्णु पौडेल महासचिव बन्ने भएका छन् भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने तयारी रहेको बताइएको छ ।

हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । त्यसपछिको वरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहनेछन् ।

एकतापछि बन्ने संयुक्त पार्टी नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति ४ सय ४१ बन्नेछ। यसैगरी ९ सदस्यीय सचिवालय हुनेछ भने ४३ सदस्यीय स्थायी कमिटी हुनेछ। केन्द्रीय समितिमा एमालेका २ सय ४१ जना रहेका छन् भने माओवादीबाट २ सय सदस्य रहनेछन् । स्थायी समितिमा भने एमालेको तर्फबाट २५ जना रहने र माओवादी केन्द्रको तर्फ १८ जना रहने जनाइएको छ ।