सहमतीय आधारमा नियमावली मस्यौदा पारित गर्नुपर्ने कांग्रेसको निष्कर्ष

काठमाण्डौ, २ जेष्ठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहमतिका आधारमा राष्ट्रियसभा र प्रतिनिधिसभाको नियमावली मस्यौदा पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको काँग्रेस संसदीय दलको बैठकले मतविभाजनका आधारमा नभई सहमतीय आधारमा सदनबाट नियमावली मस्यौदा पारित गर्नुपर्ने निष्कर्ष निकालेको हो । मस्यौदा समितिमा भएको सहमति अनुसार नै जिम्मेवार भएर नियमावली मस्यौदालाई अघि बढाउन कांग्रेसले सत्तारुढ दलको ध्यानाकर्षण पनि गराएको छ ।

कांग्रेसले नियमावलीका विषयमा सदनमा सहभागी सबै दलहरूबीच अधिकतम सहमति खोज्नुपर्नेमा समेत जोड दिएको छ । त्यस्तै बैठकले सरकारको नीति तथा कार्यक्रममा सम्बन्धमा पार्टीको धारणा ठोस रूपमा राख्नका लागि विषयगत समिति बनाउने निर्णय पनि गरेको छ । टोलीमा विज्ञहरूलाई पनि सहभागी गराइने र छोटो समयमा पनि महत्वपूर्ण धारणा राख्न सक्ने गरी सांसदहरूलाई प्रशिक्षण गराइने मुख्य सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

बैठकले बुधबार सम्पन्न संसदीय दलको निर्वाचनमा सहमति जुटाउन सफल भएकोमा निर्वाचन समितिलाई धन्यवाद दिने निर्णय पनि गरेको खाँडले जानकारी दिए ।