प्रतिबन्धित लागुऔषधसहित कारोबारी पक्राउ

जागेश्वर यादव/सिरहा, २ जेष्ठ । प्रतिबन्धित लागुऔषधसहित सिरहाको लहानबाट बुधबार एक जना कारोबारीलार्इ प्रहरीले पक्राउ गरेको छ ।

लहानको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत विराटनगर बस स्टेन्ड नजिक होटल संचालन गर्दै आएका लहान ३ बस्ने ३५ वर्षीय ज्ञान कुमार कामैत आफ्नै पसलबाट लागुऔषधसहित पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दले पाएको विशेष सूचनाको आधारमा सादा पौसाकको प्रहरीलाई लागुऔषध प्रयोगकर्ता बनाई पक्राउ परेका कामैतको पसलमा लागुऔषध खरिद गर्न पठाएको र सोही क्रममा प्रहरीले कमैतलाई २ सय ९२ थान लागुऔषधसहित पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रहरीले कामैतको पसल खानतलासी गर्दा ९८ थान फेनारगन, ३१ थान डाइजेल्याब, नरफिन १९ थान, लुपिजेसिन ८६ थान, नाइट्रोजेपाम ट्याब्लेट ५८ थान, विभिन्न कम्पनीको मोबाइल ९ थान, नक्कली पेस्तोल एक थान, तरबार एक थान र ४ हजार ९ सय भारु रूपैया बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कामैतमाथि थप अनुशन्धान भइरहेको र लागु औषध ओसार(पोसार तथा बेचबिखन अन्तर्गत मुद्दा चलाइने डिएसपी गणेश चन्दले बताए । पक्राउ परेका कामैत यसअघि पनि लागुऔषध मुद्दामा पक्राउ परिसकेका छन् ।