Breaking News

४ वर्षपछि एन्फाले गर्‍यो सहिद स्मारक ‘ए’ डिभिजन लिगको मिति घोषणा

निलम महर्जन/काठमाण्डौ, २ जेष्ठ । अन्ततः चार वर्षपछि अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ए डिभिजन लिगको मिति घोषणा गरेको छ ।

एन्फाको लिग कमिटिले ए डिभिजन लिग यही असोज १६ गतेदेखि माघ १६ गतेसम्म आयोजना गर्ने आज निर्णय गरेको हो । ए डिभिजन क्लबहरूसँगको पटक पटकको छलफलपछि पूर्व राष्ट्रिय खेलाडी विज्ञान राज शर्माको नेतृत्वको लिग कमिटिले ए डिभिजन लिगको मिति तय गरेको हो ।

यद्यपी लिग कहाँ खेलाउने भन्ने विषयमा भने निर्णय भैसकेको छैन । लिगमा १४ ए डिभिजन क्लबले खेल्ने छन् । जसमा थ्री स्टार, मनाङ मर्स्याङदी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम एनआरटि, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लब खेल्ने छन् ।

लिगको लागि क्लबहरूले कम्तिमा १८ देखि बढीमा ३५ जना खेलाडी अनुबन्धित गर्न सक्नेछन् । प्रतियोगिताका लागि क्लबहरूले चार जना विदेशी खेलाडी राख्न पाउने छन् भने एउटा खेलमा बढीमा तीन जना खेलाडी मात्र मैदानमा उतार्न पाउने प्रावधान छ ।

खेलाडी दर्ता भदौ १५ देखि हुने एन्फाले जनाएको छ । कर्मा छिरिङ शेर्पाको नेतृत्वमा एन्फा कार्यसमिति निर्वाचित भएसँगै घोषणा गरिएको ए डिभिजन लिग पछिल्लो पटक विक्रम संवत् दुई हजार ७१ सालमा भएको थियो ।

shares