‘पुरातत्व विभागको ढिलासुस्तीका कारण सम्पदा पुननिर्माणमा ढिलाइ’

काठमाण्डौ, २ जेष्ठ । काठमाडौं महानगरपालिकाका मयेर विद्यासुन्दर शाक्यले पुरातत्व विभागको ढिलासुस्तीका कारण ऐतिहासिक सम्पदाको पुननिर्माण कार्यमा ढिलाइ भएको आरोप लगाएका छन् ।

बुधबार काठमाण्डौमा मातृभाषा पत्रकारिता सम्मेलनको उद्घाटन गर्दै पुरातत्व विभागको ढिलासुस्तीका कारण पुननिर्माणका विषयमा आफूले गाली खानुपरेको गुनासो पनि गरे । उनले जेष्ठ १५ गतेदेखि रानीपोखरीको पुननिर्माण गर्ने तयारी महानगरले गरेपनि पुरातत्वले डिजाईन स्वीकृति नदिएको बताए ।

महानगरले लगातार रूपमा पत्राचार गर्दा पनि पुरातत्वले रानीपोखरीको डिजाईन नदिएको कारण तोकिएको मितिमा रानीपोखरीको निर्माण हुनेमा उनले आशंका व्यक्त गरे । उनले महानगरका केही ऐतिहासिक सम्पदाको निर्माण तीव्र रूपमा अघि बढेको र केही निर्माणका क्रममा रहेको जिकिर गरे । मयेर शाक्यले पत्रकारिता पेशालाई मर्यादित भई अघि बढाउन सञ्चारकर्मीलाई सुझाव पनि दिए ।

संघीय संरचनामा मातृभाषाको पत्रकारितालाई राज्यले प्रर्वद्धन गर्ने नीति तर्जुमाको लागि नेवाः पत्रकार दवुःले मातृभाषा पत्रकारिता सम्मेलनको आयोजना गरेको दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले जानकारी दिए ।