सिंगल ईञ्जिन भएको विमानको वारम्वार दुर्घटना भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गर्दै नेता बडु

काठमाण्डौ, २ जेष्ठ । नेपाली कांग्रेसका नेता तथा सांसद दिलेन्द्रप्रसाद बडुले सिंगल ईञ्जिन भएको विमानको वारम्वार दुर्घटना भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद बडुले सिंगल ईञ्जिनयुक्त विमानको उठानका सम्बन्धमा पुर्नविचार गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद बडुले हुम्लामा बिहान भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै बारम्बार भइरहने दुर्घटना अन्त्य नभए कम गर्नका लागि सरकारको ध्यान जानुपर्ने उल्लेख गरे ।

यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा ज्यान गुमाएका विदेशी नागरिकका परिवारले क्षतिपूर्ति पाएको तर नेपालीका परिवारले नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसदहरुले हालै मुलुकका बिभिन्न स्थानमा आएको हावाहुरीले किसानको बालिनाली नष्ट भएको भएको भन्दै किसान लक्षित राहतको कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए ।