अोली-प्रचण्डबीच छलफल, एकता संयोजन समितिको बैठक भोलि बस्ने

काठमाण्डौ, २ जेष्ठ । एकताका विषयमा टुङ्गो लगाउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक बिहीबार बस्ने भएको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बिहान बसेको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच भएको वार्तामा एकता संयोजन समितिको बैठक बिहीबार बिहान १० बजे डाक्ने र सोही बैठकबाट आवश्यक निर्णय गर्ने सहमति भएको हो ।

दुई अध्यक्षबीच बुधबार बिहान करिब दुई घन्टा चलेको छलफल पार्टी एकतासम्बन्धमा प्रगति उन्मुख रहेको बताइएको छ । पार्टी एकता सकेसम्म एक साताभित्रै टुंगो लगाउने गरी एकता संयोजन समितिमा छलफल गर्ने दुई अध्यक्षको तयारी छ ।

बैठकपछि एमाले नेता बिष्णु पौडेलले शीर्ष नेताहरूको व्यस्तता र भारतीय प्रधानमन्त्रीको भ्रमणमा केन्द्रित हुनुपरेकाले छलफल हुन नपाएको भन्दै बिहीबारको बैठकले ठोस निष्कर्ष दिने बताए । त्यस्तै माओवादी नेता जनार्दन शर्माले एकताका विषयमा बिहीबार बस्ने संयोजन समितिको बैठकले थप निर्णय गर्ने बताए ।

यसअघि प्रधानमन्त्रीसमेत रहेका ओलीले मंगलबार सार्वजनिक कार्यक्रममै एकता अन्तिम चरणमा पुगेको र अब केही कुरा मात्रै मिल्न बाँकी रहेको बताएका थिए ।