लम्पसारवादीहरूले नै वर्तमान सरकारलाई लम्पसारवाद देख्नु हास्यास्पद: अोली

काठमाण्डौ, १ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अघिल्लो सरकारजस्तो निरीह नरहेको स्पष्ट पारेका छन् ।

युवा संघ नेपालको २८ औ स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उनले लम्पसारबादीहरूले नै वर्तमान सरकारलाई लम्पसारवाद देखेको भन्दै यो सरकार अघिल्लो सरकारजस्तो निरीह नरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमिकतालाई सम्मान गर्ने ठाउँमा आफूले भारतलाई ल्याएको पनि दाबी गरे । उनले कांग्रेस नेता गगन थापाप्रति लक्षित गर्दै कांग्रेस युवा नेताको दिमागमा विरोधमात्र भरिएको टिप्पणी गरे । ओलीले मोदीको नेपाल भ्रमणका क्रममा कुनै राष्ट्रहित विपरितका सन्धी सम्झौता नभएको दाबी गर्दै भएको भए कुनै प्रमाण भएर ल्याउन चुनौति समेत दिए ।

त्यस्तै उनले मोदीको नागरिक अभिनन्दनमा दुई नम्बर प्रदेशमा मुख्यमन्त्री लालबाबु राउतले कूटनीतिक मर्यादाविपरित बोलेको भन्दै नेपाल सरकारको नीति त्यो नरहेको पनि स्पष्ट पारे । एमाले अध्यक्ष समेत रहेका ओलीले दुई पार्टीबीच हुने एकता प्रक्रियालाई कसैले रोक्न नसक्ने धारणा पनि राखे । उनले एकताका लागि कुनै तयारी आवश्यक नरहेको तर्क गर्दै एमाले र माओवादीको घोषणा दुई दिनको मिति राखेर पनि हुनसक्ने जिकिर गरे ।

कार्यक्रममा एमाले नेताहरूले एकताका लागि नेतृत्व व्यवस्थापनको समस्या नभएको र सिद्धान्तमा पनि धेरै विषय टुङ्गिएकाले एकतामा अलमल गर्न नहुने बताए । साथै उनीहरूले मुलुकको समृद्धिको दिशामा एकिकृत भएर लाग्नुपर्ने बताएका थिए ।