कृषि क्षेत्रमा रहेको सिण्डिकेट तोड्दै ‘किसान पेन्सन’ लागु गर्छु: कृषिमन्त्री खनाल

काठमाण्डौ, १ जेष्ठ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा रहेको सिण्डिकेट आफूले तोड्ने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले काठमाण्डौमा आयोजना गरेको साक्षात्कारमा मन्त्री खनालले कृषकहरूलाई फाइदा हुनेगरी कदम चाल्ने भन्दै तरकारीको बजारमा रहेको सिण्डिकेट अब तोडिने बताए । आफूले कृषि क्षेत्रलाई ध्यानमा राखेर ‘किसान पेन्सन’ लगायत केही नयाँ कार्यक्रमहरू ल्याउने पनि उनले बताए ।

मन्त्री खनालले भारतसँग नेपालको धेरै राम्रो सम्बन्ध रहेको बताउँदै कृषिमा सहकार्य हुने विश्वास दिलाए । आफू निकट भविष्यमै भारत भ्रमणमा जाने जनाउँदै कृषिसम्बन्धी कार्यक्रमहरू अघि बढाउने मन्त्री खनालले जानकारी दिए । उनले नेपालमा जमिनको समस्या रहेको बताउँदै जमिनलाई वर्गिकरण गरेर समस्या हल गर्नतर्फ आफू केन्द्रित हुने बताए ।

मन्त्री खनालले कृषि क्षेत्र सरकारको प्राथमिकताका नरहेको देखिएको भन्दै अबको बजेटमा भने कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिने जिकिर गरे । उनले अव्यवस्थित बसोबासको समस्यालाई पनि २ वर्षभित्रै हल गर्ने दाबी गरे ।