सम्झनामा नेपाली म्याराडोना मणि शाह

निलम महर्जन/काठमाण्डौ, १ जेष्ठ । विश्व फुटबलमा ८० को दशकका चर्चित, सफल र महान फुटबलर डीएगो म्याराडोनासँग तुलना गरिएका नेपाली खेलाडी हुन् मणि शाह । मणि शाह नेपाली फुटबलका लागि एक चर्चित एवं आदर्श खेलाडी हुन् । जसले ८० कै दशकमा नेपाललाई विभिन्न अन्तराष्ट्रिय फुटबलमा सफलता दिलाउन महत्वपुर्ण भूमिका खेलेका थिए । खेल्ने शैली, हाउभाउ, धुम्रीएको कपाल, १० नम्बर जर्सीले सधै उनलाई म्याराडोनासँग तुलना गरियो ।

उनै नेपाली म्याराडोनाका नामले परिचित मणि शाहको सोमबार साँझ काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भयो । पित्तथैली र कलेजोको समस्याबाट पीडित उनको उपचारका क्रममा ५१ वर्षको उमेरमा निधन भएको हो । सानैदेखि फुटबलमा होमिएका मणिको बल ड्रिबिङ, पेनाल्टी एरियाबाट फिनिसिङ गर्नु र विपक्षीलाई नियन्त्रणमा राख्न सक्ने खुबीको फुटबल जगतमा अहिले पनि प्रशंसा हुने गरेको छ ।

मणि सन् १९६७ मा काठमाडौंको कालधारामा जन्मिएका थिए । बुवा लक्ष्मणविक्रम शाह राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक रहेको कारण पनि उनी सानैदेखी फुटबलतिर लागेका थिए । नौ वर्षको उमेरदेखि नै मणिलाई टासी घलेले फुटबल प्रशिक्षण दिएका थिए ।

नेपालले १९८१ मा फिफाको सदस्यता पाएको दुई वर्षपछि नै सन् १९८३ मा थाइल्याण्डको बैंककमा भएको यू–१३ प्रिन्सेस कपमा उनले नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए । १७ वर्षको उमेरदेखिनै सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका उनी सन् १९८५ मा बंगलादेशको ढाकामा सम्पन्न दोस्रो साफदेखि नेपाली टोलीका नियमित सदस्यका रूपमा टोलीमा थिए । आफूभन्दा युवा तथा नव प्रवेशी खेलाडीहरूमा उत्तिकै लोकप्रिय मणि युवा पुस्तामाझ पनि प्रेरणाको स्रोत हुन् ।

सन् १९९३ को छैटौं साग गेम्स अन्तर्गत फुटबलमा गरेको प्रदर्शनबाट एकाएक चर्चाको केन्द्रमा आएका थिए । प्रतियोगिताको फाइनलमा भारतविरुद्ध अन्तिम सेकेण्डमा फ्रिकिकमार्फत बराबरी गोल र पेनाल्टीमा अविस्मरणीय ५–४ को जित निकाल्दा मणि शाह नायक बनेका थिए । नेपालका लागि ४८ क्याप खेलेका उनले राष्ट्रिय टोलीका लागि ६ गोल गरेका छन् । फुटबलबाट एशियाली खेलकुदमा झण्डा बोक्ने उनी एक्ला हुन् । उनले सन् १९९८ को बैंकक एशियाडमा नेपालको झण्डा बोक्ने सौभाग्य पाएका थिए । मिडफिल्ड र स्ट्राइकर पोजिसनमा आवश्यकता अनुसार खेल्न सक्ने अभूतपुर्व खेलाडी मणिको निधनबाट नेपाली फुटबल जगतले ठुलो नोक्सानी व्यहोरेको छ ।