हसन रुहानी दोस्रोपटक ईरानकाे राष्ट्रपति

काठमाण्डौ, ६ जेठ । हसन रुहानी दोस्रोपटक ईरानका राष्ट्रपति चुनिएका छन् । उनका प्रतिद्वन्दी इब्राहिम रईसी भारी मतअन्तरले पराजित भएका छन् ।

योसँगै सरकारी मिडियाले दोस्रोपटक राष्ट्रपति भएको उपलक्ष्यमा रुहानीलाई बधाई पनि दिएका छन् । राष्ट्रपतीय चुनाव समितिका प्रमुख अली असगरले मतगणना पूरा भएको र हसन रुहानीले लगभग ४ करोड मत प्राप्त गरेको सरकारी टेलिभिजनलाई बताए ।

आधिकारीक तथ्याकंका अनुसार उनका प्रतिद्वन्दी इब्राहिम रईसीले १ करोड १५ लाख मत प्राप्त गरे । यद्दपि इब्राहिमले मतगणना स्वच्छ नभएको आरोप लगाएका छन् । उनले रुहानीका समर्थकहरुले मतगणनाका क्रममा प्रोपोगाण्डा फैलाएको पनि बताए ।

यस मतगणनामा ७० प्रतिशत मत खसेको निर्वाचन समितिको दाबी रहेको छ । मतदाताहरुको चापले गर्दा मतदानको समय ५ घण्टा बढाइएको थियो ।

रुहानी सन् २०१३ मा पहिलोपटक राष्ट्रपतिमा चुनिएका थिए ।