Breaking News

तटबन्ध निर्माणका लागि १८ करोड ७४ लाख रूपैयाँ भारतीय अनुदान

काठमाण्डौ, १ जेष्ठ । भारत सरकारले तराई क्षेत्रका बाग्मती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माणका लागि नेपाल सरकारलाई रू. १८ करोड ७४ लाख अनुदान प्रदान गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले मन्त्रालयका सचिव सञ्जय शर्मालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । भारत सरकारको सहयोगमा तीन नदीका एकसय ७३ दशमलव १६ किलोमिटर तटबन्ध निर्माण भइरहेको छ भने नदी किनारसंगै सडक निर्माणको कार्यपनि संगसंगै भइरहेको छ ।

नदी तालिम तथा तटबन्ध निर्माण कार्यले लालबकैया, वाग्मती र कमला नदीमा बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापन गर्ने लक्ष्य अनुसार नदी प्रभावित क्षेत्रमा बसोबास गर्ने लाखौँ जनतालाई लाभ पु¥याउने विश्वास नेपाल सरकारले लिएको छ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा नेपाल भारतको दुई पक्षीय संयन्त्र मिलेर कार्य गर्ने बताए । भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणमा क्रममा भएका समझदारीले दुईपक्षीय सहयोगलाई कार्यान्वयन गर्न सहज भएको उनको भनाइ छ ।

त्यस्तै भारतीय राजदूत पुरीले दुईदेशीय हितका लागि भारतले नेपाललाई सदैव सहयोग गर्ने भन्दै यसले नेपाली जनतालाई प्रत्यक्ष फाईदा हुने विश्वास व्यक्त गरे । उनले नेपालसँग नदी तालिम, बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापनका क्षेत्रमा निकट रहेर थप सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

shares