Breaking News

सभामुख कप राष्ट्रिय भलिबल: उपाधिका लागि पुलिस, एपीएफ र आर्मी भिड्ने

काठमाण्डौ, १ जेष्ठ । सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुलिस,एपीएफ र आर्मी उपाधि नजिक पुगेका छन् । महिलातर्फको उपाधि भिडन्तमा एपीएफ र पुलिस तथा पुरुषतर्फको फाईनलमा आर्मी र पुलिस प्रतिस्पर्धा गर्ने भएका छन् ।

रोल्पाको लिवाङमा मंगलबार भएको महिलातर्फको सेमिफाईनल खेलमा पुलिसले नेपाल आर्मीलाई २५–२०, २५–१७ र २५–१० को सोझो सेटमा हराएको हो । दोश्रो सेमिफाईनल खेलमा एपीएफले प्रदेश ५ लाई २५–६,२५–८ र २५–१३ को सोझो सेटमा स्तब्ध बनायो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा संचालन भएको प्रतियोगिताको पुरुषतर्फको सेमिफाईनल खेलमा नेपाल आर्मीले प्रदेश ४ लाई २७–२५, २५–२० र २५–२१ को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुग्यो । अर्को सेमिफाईनल खेलमा पुलिसले एपीएफलाई २५–१६, २५–१६, २४–२६ र २५–२१ को सेटमा हराउँदै उपाधि भिडन्तमा आर्मीसँग भेट पक्का गर्यो ।

सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेको प्रतियोगितामा सहभागी दुवै समूहका टिमलाई चार समूहमा विभाजन गरी लिगकम नकअाउटका आधारमा प्रतियोगिता संचालन गरिएको छ । सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिताका दुवै समूहका विजेता टिमले समान ३ लाख ५० हजार, उपविजेताले २ लाख र तेश्रो हुनेले १ लाख नगद पुरस्कार पाउने छन् ।

प्रतियोगिता सञ्चालन गर्न अनुमानित ५५ लाख खर्च हुनेछ । फाईनल प्रतिस्पर्धा भने बुधबार हुनेछ । तेश्रो स्थानका लागि मंगलबारनै खेल हुने नेपाल भलिबल संघका उपाध्यक्ष यम गुरुङले जानकारी दिए ।

shares