Breaking News

नेपाली म्याराडोना मणि शाहको दशरथ रंगशालामा अन्तिम बिदाइ

काठमाण्डौ, १ जेष्ठ । सोमबार साँझ निधन भएका नेपाली म्याराडोना भनेर चिनिने पूर्व खेलाडी मणि शाहको त्रिपुरेस्थित दशरथ रंगशालामा अन्तिम बिदाइ गरिएको छ ।  खेलकुद क्षेत्रसहित अन्य क्षेत्रका व्यक्तित्वहरू तथा खेलप्रेमीहरू स्वर्गीय शाहलाई श्रद्धाञ्जली व्यक्त गर्न रंगशालामा जम्मा भएका थिए ।

लामो समयदेखि कलेजोको समस्याका कारण बिरामी ५१ वर्षीय मणि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भर्इ भेन्डलेटर कक्षमा उपचारत थिए । उपचारकै क्रममा आन्तरिक रक्तश्रावका कारण सोमबार बेलुका ५ बजेर ४२ मिनेटमा उनको निधन भएको थियो ।

सन् १९८४ देखि १९९८ सम्म १३ वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीमा बिताएका शाहले उत्कृष्ट एट्याकिङ मिडफिल्डर पहिचान बनाए थिए ।उनी नेपाली फुटबलमा चर्चित मिड्फिल्डर र फर्वाड थिए । नेपाललाई ऐतिहासिक सफलता समेत दिलाएका मणि सफल फुटबल खेलाडीसमेत हुन् ।

सन् १९९३ मा बंगलादेशको ढाकामा सम्पन्न छैटौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपालले स्वर्ण जित्दा मणिको योगदान अतुलनीय थियो । फाइनल खेलको अन्तिम समयमा भारतविरुद्ध गोल गर्दै खेल पेनाल्टीमा पुर्याएका थिए । पेनाल्टीमा उत्कृष्ट गोल गर्दै मणिले नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

सन् १९९८ को एशियाली खेलकुदमा नेपालको झण्डा बाक्ने सौभाग्य पाएका शाह एशियाली खेलकुदमा नेपालको झण्डा बोक्ने अहिलेसम्मकै एकमात्र फुटबल खेलाडी हुन् । अाफ्नो खेल जीवनमा उनले १० अन्तर्राष्ट्रिय गोल गरेका छन् । स्वर्गीय शाहकी श्रीमती र १ छोरी छन् ।

shares